हुतराम वैद्यले आफ्नो एकल प्रयासमा वागमति सफाइ अभियान चलाएका थिए । सुन्दर, सङलो वागमतिको सपना देखेर अभियानमा जुटेका वैद्यले कहिल्यै वागमतिलाई सफा र हरियाली देख्न पाएनन् । तर उनको त्यो सङलो र स्वच्छ अभियान भने अझै जारी नै छ ।

त्यो अभियानमा अझैसम्म पनि एक्लो प्रयासरत रहने अर्काे व्यक्तिको नाम हो बागमति भाइ । हुन त उनको नाम सुन्दरमान श्रेष्ठ हो । तर उनी अहिले त्यो नामले भन्दा पनि बागमति भाइको नामले वढी परिचित छन् सवैसामु ।

काठमाडौं महानगरपालिका वडा नं ११ बागमतिसँंगै त्रिपुरेश्वर घर भएका उनी अहिले भने काठमाडौं महानगरपालिका वडा नं ३२ तीनकुने काठमाडौंमा वस्छन् । ‘मेरो पुरानो घर बागमतिबाट एक सय मिटर नजिकै त्रिपुरेश्वरमा थियो, बागमति भाइले नागरिकसँंग वेलिविस्तार लगाए, घर नजिकैको देशकै पबित्र बागमतिको दुर्गतिले मेरो मन रोयो र बागमति सफाइमा उहिलेदेखि अहिलेसम्म पनि चिन्तित छु ।’
यही चिन्तालाई थोरैमात्रै साकार पार्न उनी उहिलेदेखि अहिलेसम्म पनि सक्रिय छन् विभिन्न हिसावले । बागमतिको चिन्ता गर्ने वागमति भाइ भन्छन्, ‘वागमति सभ्यता पनि हो, यो इतिहास पनि हो । हाम्रा पुर्खाले बनाएका सम्पदालाई जसरी हामीले उपयोग गरीरहेका छौं, यी धरोहर र सभ्यता जागाउने जिम्मा हाम्रो पनि हो । किनकि भावी पुस्तालाई पनि उत्तिकै वागमति प्रयोगको अधिकार छ ।’ उनका हिसावमा वागमति नदी हेपीएकी छिन् । अनि उनीमाथि अतिक्रमण भैरहेको छ ।
विभिन्न नाममा वागमति सफाइको बहानामा यो नदीमा अर्वौ रकम बगीसकेको छ । तर बागमति नदीले आफ्नो स्वरुप पाउन सकेको छैन । वढ्दो आवादी अनि सरकारी वेवस्ताका कारण वागमति नदीलाई नियन्त्रण होइन, यसको संरक्षण गर्नुपर्छ भनी निरन्तर लागिरहेका छन् वागमति भाइ ।

कसरी जुरयो नाम ?
युवा अवस्थादेखि नै बागमति नदीकोबारेमा चिन्तित ५६ वर्षीय बागमति भाइको नाम सुन्दरमान श्रेष्ठ थियो । उनी बागमतिको सफाईमा निरन्तर लागि नै रहेका थिए । यो क्रममा तत्कालिन मुख्य सचिव लीलामणि पौडेलसँंग पनि बागमति सफाइकै क्रममा उनको धेरै भेट हुन्थयो । तर तत्कालिन मुख्य सचिव लीलामणिलाई उनको नाम खासै याद रहेन । त्यसकारण सुन्दरमानलाई लीलामणिले सुन्दरमान भनेर कहिल्यै सम्वोधन गरेनन्, बोलाएनन् । बरु जहिल्यै बागमति भाइ भनेर सम्वोधन गरे । त्यसपछि सुन्दरमानले पनि आफनो नाम सुन्दरमानको सटा बागमति भाइ राखे । र अहिले पनि उनी आफनो नाम बागमति भाइ भनेरै परिचित गराउँंछन् ।

साहित्यमार्फत् जनचेतना
वागमतिलाई बचाउन उनले अर्काे हतियार चलाइरहेका छन्, त्यो हो साहित्य । साहित्यमार्फत् नै उनले बागमतिलाई जोगाउनुपर्ने जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् । त्यसका लागि उनले आफनै अध्यक्षतामा बागमति साहित्यिक केन्द्र स्थापित गरेका छन् ।
केन्द्रले विभिन्न समयमा बागमति बचाउनुपर्ने विषयमा विद्यालयस्तरीय साहित्यिक प्रतियोगिता पनि गरिरहेका छन् निरन्तर । बागमित बचाउनुपर्ने चेतना दिन उनले उत्कृष्टलाई आफनै व्यक्तिगत खर्च गरी पुरस्कृत पनि गर्दै आएका छन् । साथसाथै उनले २०७६ सालमै वागमति नामक कविता संग्रह प्रकाशित गरी निशुल्क रुपमा अहिले पनि ठाउँंठाउँंमा वितरण गरिरहेका छन् ।   


व्यानर अभियान
बागमतिलाई जोगाउन उनको अर्काे अभियान हो, व्यानर अभियान । बागमति छेउछाउका किनार तथा काठमाडौंका विभिन्न ठाउँंहरुमा वागमति बचाऔं भन्ने सन्देश लेखिएका व्यानरहरु टाँंग्दै आएका छन् उनले । साथसाथै उनी बागमतिलाई जोगाउनुपर्ने सन्देशसहितका लेख रचना पनि लेखिरहन्छन् । बागमतिलाई जोगाउन आह्वान गर्दै उनी दैनिकजसो सामाजिक सञ्जाल फेसबुकमा पनि आफूले लेखेका साहित्य पोष्ट गरिरहन्छन् ।

खुटामा समस्या
उनी अहिले पहिला जस्तो बागमतिभित्र पसेर बागमति सफा गर्न जाँंदैनन् । किनकि उनको खुटामा अहिले समस्या छ । उनका अनुसार दीर्घ हुने गरी नै खुटामा समस्या छ । ‘पहिला बागमति सफा गर्न धेरै वागमतिभित्र पसियो, उनले भने, ‘यही कारण खुटामा समस्या भएको भनी चिकित्सकहरुले बताएका छन् ।’ एकजना मानिस बागमति सफा गर्न पसेर वागमति सफा हुने उनको धारणा पनि परिवर्तन भइसकको छ अहिले । बरु जनचेतनामार्फत् बागमतिलाई सफा गर्न सकिने विश्वास छ उनको । यही कारण पनि उनी अरुलाई पनि बागमतिभित्र पसेर सफा गर्न नजान सुझाब दिन्छन् अहिले ।

र अन्तमा  
नेपालकै पहिलो कृषि इन्जिनीयर हुतराम बैद्यको शरीरले ९४ वर्षको उमेरमा सन् २०१३ डिसेम्वर २४ का दिन विश्राम लिएको थियो । वैद्य जीवन लीलाबाट अस्ताए पनि उनको संरक्षण अभियान भने अस्ताएको छैन । अस्ताउनु पनि हुंदैन । काठमाडौ र वागमतिलाई सभ्यताको नाममा परिचय दिलाएका वैद्यको अभियानले तवमात्र सार्थकता पाउने छ, उनको आत्माले तवमात्र शान्ति पाउने छ, जव बागमति नदीमा स्वच्छ पानी वग्न थाल्नेछ । यो फोहोर र ढल मुक्त बन्नेछ अनि अतिक्रमणकारी र भुमाफियाको चंगुलवाट बाहिर आउने छ । सरकारी जागिरवाट अवकास पाएपछि जीवनका अन्तिम क्षणसम्म पनि वागमति सरसफाइ अभियानमा होमिएका वैद्यले वागमति सफाइको अभियान व्यक्तिगत रुपमै चलाएका थिए ।
...

All Comments.......


Please Login/Register To Comments