मध्यपुर थिमि । प्रत्येक समुदायले थाम्न सक्नेगरी उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक (खुल्ला छाडा) कुकुरको संख्या बनाउने उद्देश्यले मध्यपुर एनिमल वेयरफेयर सोसाईटी मध्यपुर थिमिले सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण अभियान सञ्चालन गर्ने भएको छ ।
वल्र्ड भेगन एसोसिएशनको वित्तिय सहयोगमा सोसाईटीले यहि मंसिर १७ गतेदेखि १९ गतेसम्म मध्यपुर थिमि २ गठ्ठाघरस्थित मध्यपुर युथ एशोसिएशनको भवनमा उक्त बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न लागिएको सोसाईटीका अध्यक्ष राजेश कारंजितले जानकारी दिनुभएको छ ।
अध्यक्ष कारंजितले नमुनाको रुपमा पहिलो चरण अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. ६ भित्रका करिव १ सय ५० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने योजना रहेको र पछि नगरभित्रका अन्य वडाहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदैं सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रमको महत्वका बारेमा बोल्दै सोसाईटीका सचिव सविता श्रेष्ठले एउटा वयष्क पोथी कुकुरले आफुनो जीवनकालभरी ८० वटा बच्चाहरु जन्माउन सक्षम हुने भन्दै ती आमा र उसका बच्चाहरु बाँच्ने हो भने ६ वर्षमा करिव ६७ हजारको संख्यामा उनीहरुको जनसंख्या बृद्धि हुन्छ त्यसैले समुदायले थाम्न सक्नेगरी उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक कुकुरको संख्या बनाउनका लागि पनि यो कार्यक्रमको महत्व रहेको बताउनुभयो ।
कार्यक्रमले अनियन्त्रित रुपमा सडकमा बढ्दै गएको सामुदायिक छाडा कुकुरका कारण सडक दुर्घटनामा न्युनिकरण गर्नमा पनि सहयोग पुग्ने स्थानीयबासिन्दाहरुको जोड रहेको छ ।


...

All Comments.......


Please Login/Register To Comments