भक्तपुर । जिल्ला अदालत भक्तपुरले नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन सञ्चालक समितिका अध्यक्ष लम्वोदर कुमार न्यौपानेविरुद्ध परेको सरकारवादी मुद्धामा बहस नोटको आदेश जारी गरेको छ । जिल्ला न्यायाधीस कमला पौडेलले आइतबारको बहसपछि २१ दिनभित्र बहसको लिखित नोट पेश गर्न पक्षविपक्ष दुवैलाई आदेश दिएकी हुन् । विहीबारदेखिको निरन्तरको बहसपछि ती मौखिक बहसको नोट लिखित रुपमा बुझाउन आदेश अदालतले आदेश जारी गरेको हो ।
आदेश अनुसार अव मुद्धाको पक्षकोतर्फबाट सरकारी अधिवक्ता नवराज पराजुलीले बहस नोट दिनेछन् भने विपक्षकोतर्फबाट टंक दुलालले लिखित नोट पेश गर्नेछन् । आइतबारको बहसमा जाहेरिवालाकोेतर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, तथा डा. नरेश महर्जन, युवराज बन्जाडे, सार्दुल थापालगायतले बहस गरेका थिए । विपक्षकोतर्फबाट टंक दुलाल र सुदीप अधिकारीसमेतले बहस गरेका थिए ।  
तत्कालिन कलेज सञ्चालक समितिका अध्यक्ष न्यौपानेले मनोमानी ढंगले कलेजको सम्पति ठगी गरेको आरोपमा उनीमाथि केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईवी)ले सरकारी मुद्धाको रुपमा जिल्ला अदालत भक्तपुरमा मुद्धा दायर गरेको थियो । २३ करोड भन्दा वढी सम्पति अपचलन गरेको देखिएपछि उनीविरुद्ध सीआईवीले भक्तपुर जिल्ला अदालतमा ठगी मुद्धा दायर गरेको हो । यसअघि कलेजमा चरम आर्थिक हिनामिनाको सम्वन्धमा सम्पति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरेको थियो । त्यस क्रममा ठगी भेटिएपछि सीईवीले छानविन सुरु गरी मुद्धा दायर गरेको थियो ।
यसैवीच लम्वोदरलाई उन्मुक्ति नदिन आइतबार पनि जिल्ला अदालत भक्तपुर अगाडि कलेजका विद्यार्थीसहित स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, स्थानीयबासी स्वतस्फुर्ट सहभागिता जनाई प्रदर्शन गरेका थिए ।
नेपाली कांग्रेसकोतर्फबाट कलेज सञ्चालक समितिका सदस्य सोम प्रधानले नाफा नलिने उद्देश्यका साथ नाफारहित रुपमा सञ्चालित कलेजलाई निजी बनाउने प्रयास गर्नुका साथै कलेजको सम्पति अपचलन गरेको पाइएकाले यस्ता व्यक्तिमाथि कारबाही गर्न दवाव दिन प्रदर्शन गरेको जनाए । कलेजलाई कुनै हालतमा निजी बनाउनेविरुद्ध जुनैसुकै अवस्थामा लड्ने प्रतिबद्धता उनले जनाए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को तर्फबाट कलेज सञ्चालक समिति सदस्य रहेको नरेश खड्काले कलेजलाई निजीकरण गर्न नदिन स्थानीयबासी निरन्तर लडिरहेको बताए । अहिले पनि कहिँकतैबाट षडयन्त्र गरी कलेजलाई निजी बनाउने दुश्प्रयास गरे सारा स्थानीयवासी एकजुट भई संघर्ष गर्ने घोषणा उनले गरे ।  

...

All Comments.......


Please Login/Register To Comments