भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नंं ८ माहेश्वरीमा अवस्थि दुवेङ्क फल्चाको शिलान्यास शनिबार गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारका क्रममा प्राप्त जनश्रमदान र आर्थिक सहयोगका कारण अनुमानित भन्दा आधा बजेटमा जीर्णोद्धार सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो — “सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षणमा भक्तपुर नपाले गरेको काम र शैलीबाट अरु स्थानीय तहहरुले पनि सिक्न चाहेका छन् ।’

ठेकेदारमार्फत हुने विकास निर्माणका कार्यहरु कमजोर र कम गुणस्तरका हुने बताउनुहुँदै उहाँले भक्तपुर नगरपालिकाले भक्तपुरको वातावरण र कला संस्कृति संरक्षणको लागि आवश्यक कानुन बनाइ अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।
भक्तपुर नपाको आ.व. २०७७÷७८ को वार्षिक बजेट रु. १ अर्ब ८२ करोड रहेको र बजेटका रकम नगरको विकास निर्माणमा प्रयोग हुनुका साथै नगर र नगरबासीहरुको हितमा प्रयोग हुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले नयाँ आर्थिक वर्षको सुरुवातसँगै फल्चाको पुनःनिर्माण कार्य सुरु हुने बताउँदै फल्चा निर्माणको लागि जनश्रमदान र आर्थिक सहयोगको लागि आह्वान गर्नुभयो ।
दुवेङ्के फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त पाटीको पुनःनिर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत हुन लागेको अवगत गराउँदै भक्तपुरमा पहिलेदेखि सम्पदा निर्माण जनश्रमदानमार्फत हुने गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा नेमकिपा वडा नं. ८ का इन्चार्ज कृष्णप्रसाद कोजु र स्थानीय राजन फेलुले पनि बोल्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments