भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको छ । सोमबार भक्तपुरको सहिदस्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले खेलकुद क्षेत्रमा लाग्ने खेलाडीहरूले  सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै आफ्नो खेलको विकास गर्ने हुँदा यसले भविष्यमा व्यक्तित्व विकासमा समेत विशेष योगदान पुर्याउने बताउनुभयो ।
    
मित्रता, अनुशासन र स्वस्थ जीवनको लागि खेलकुद अत्यन्त महत्वपूर्ण हुने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले खेलाडीहरुले देशको गरिमा बढाउने बताउनुभयो । समयानुकुल खेलकुद प्रतियोगिताको आयोजना गर्नुपर्ने सुझाव दिनुहुँदै खेलाडी विद्यार्थी भाइ बहिनीहरुलाई विद्यालयस्तरबाटै कुनै न कुनै खेलकुदमा सहभागी हुँदै शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहनुपर्ने विचार व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा उत्कृष्टता हासिल गरेसँगै खेलकुद क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरिरहेको बताउनुहुँदै खेलकुद मावन जीवनको अभिन्न अंग भएको बताउनुभयो ।
    
विद्यार्थीहरुको अनुकूल समयमा विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सकृय बनाउन प्रत्येक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले खेलकुद हार–जीत भन्दा पनि अनुशासन र मित्रताको निम्ति खेल्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले खेलकुद महोत्सवको पूर्ण सफलताको कामना गर्नुहुँदै भक्तपुर नगरपालिकाले विद्यार्थीहरुको खेल जीवनलाई निरन्तरता दिने र विद्यार्थीहरुलाई उत्साहित गर्ने सराहनीय कार्य गरेको बताउनुभयो । बालबालिकाका लागि कोभिडविरुद्धको खोप ल्याउन सरकारले ढिलाइ गर्न नहुने बताउनुहुँदै सांसद गोसाइँले बालबालिकाको लागि कोभिडविरुद्ध खोपको प्रभावकारिताबारे आवश्यक छलफल चलाउनु आवश्यक भएको बताउनुभयो ।
    
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले खेलकुद क्षेत्रको विकासमा भक्तपुर नपाले उल्लेखनीय प्रगति गर्दै आइरहेको धारणा व्यक्त गर्नुहुँदै खेलकुदले विद्यार्थीमा अुनशासन र नेतृत्व विकासमा टेवा पु¥याउने बताउनुभयो । भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक एवभ् भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत गनुभएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । मंसिर २० गतेदेखि २४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरु भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । उद्घाटन कार्यक्रममा खेलाडीहरुले जिम्नास्टिक खेलको कौसल प्रस्तुत गरेका थिए । प्रतियोगितामा नगरपालिकाभित्रका ६० वटा भन्दा बढी विद्यालयका १८८५ जना खेलाडीहरुले प्रतिस्पर्धामा सहभागिता रहने नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताउनुभयो ।
    
साथै प्रतियोगितामा (टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वाण्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय) गरी १४ वटा खेलका लागि प्रतिस्पर्धा हुनेछ । उद्घाटन कार्यक्रममा निर्णायकको तर्फबाट राजुसिं बजिक्व, प्रशिक्षकको तर्फबाट मुना बासुकला र खेलाडीको तर्फबाट दीपशीखा बासुकलाले खेललाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सञ्चालन गर्न शपथ ग्रहण गर्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments