ललितपुर । माननीय उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यतामा वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशी बा को एकल पेन्टिङ ” क्यानभासमा सत्यमोहन बा ” प्रदर्शनीको उद्घाटन सम्पन्न गरिएको छ ।

सोमवार शताब्दी पुरुष सत्यमोहन जोशीको आवासमा स्थापित लोक साहित्य परिषद भवन परिसरमा योंग पिकासो संस्थाले पाटन संग्रहालयको विशेष सहयोग र विभिन्न संघसंस्थाको साथसमर्थनमा सो चित्रकला प्रदर्शनी आयोजना गरेका हुन ।

वांगमय शताब्दी पुरुषको जोशीज्युको समुपस्थितिमा प्रमुख अतिथि मन्त्री भुषालले निजी सम्पत्तिसमेत राष्ट्रिय महत्वको संग्रहालयमा परिणत गर्ने चाहना जस्तो महान कार्यमा समर्पित आदरणीय शताब्दी पुरुषको सपनामा साथ दिन ब्यक्तिगत रुपमा पनि आफ्नो एक महिनाको तलब पारिश्रमिक लोक साहित्य भवनको लागि समर्पित गर्ने वचन दिनुभयो । “आदर्श ब्यक्तित्व शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन ‘बा’ले संकलित र संरक्षित गर्नुभएका पौराणिक मुद्रा लगायतका ऐतिहासिक महत्वका बस्तुहरुलाई आजका बक्ताहरुको सुझावहरु र उहाँकै इच्छा अनूरूप संग्रहालयको रूप दिन सरकारको आगामी मन्त्री परिषदको बैठकमा बिषय उत्थानसँगै सरकारको तर्फबाट सक्दो पहलकदमीका लागिपर्नेछु ।” उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रदर्शनीको पहिलो दिनको उदघाटन कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै आयोजक संस्था योंग पिकासोका अजय देसारले दुई वर्ष अघि माघ १५ गते आफ्नो संस्थाको आयोजनामा पाटन संग्रहालय परिसरमा आयोजित सत्यमोहन सरको लाईभ पेन्टिङका क्रममा ११ देखि ७० वर्ष सम्मका चित्रकारहरुले कोरेका चार सय मध्ये छानिएका ४० उत्कृष्ट चित्रकलालाई ५ दिने प्रदर्शनीका रूपमा आयोजना गर्न पाउँदा गर्व र आत्मियता वृद्धि भएको बताए ।

विभिन्न चित्रकलाप्रेमी, पाटन संग्रहालयका निमित्त निर्देशक सुरेषमान लाखे लागायतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा आयोजित सो कार्यक्रमा ललित कला एकेडेमीका उप कुलपति गोपाल चित्रकार, संघीय सांसद कृष्ण लाल महर्जन लगायतले पनि प्रदर्शनीको प्रशंसा गर्दै शुभकामना मन्तव्य दिनु भएको थियो ।

आफ्नै फोटो हेरेर दङ्ग पर्नुभएका शताब्दी पुरुष जोशीज्युले चित्रकारहरुलाई धन्यवाद दिंदैं यस्तो खालको प्रदर्शनी आफ्नो जीवनको पहिला अनुभूति भएको बताउनुभयो । जीवनको उत्तरार्धमा आएर आफ्नो जीवनकालको विभिन्न अवस्थाको चित्रकला हेर्दा जीवनको अनुभवहरुको स्मरण ताजा गरिदिएको उहाँको धारणा रहेको थियो ।

 “आफ्ना जीवन रहँदै कोरिएका आफ्नै चित्रहरू प्रदर्शन गरिनु आज सम्मको सबैभन्दा सफल दिन रहेको छ, यसको लागि योङ पिकासोका निर्देशक अजय देशारलाई धन्यवाद दिन चाहन्छु । यसले मेरो खुसीको सीमा नाघेको छ ।  म मात्र होइन यस्ता जीवित विषयलाई योङ पिकासो जस्तै अन्यसंस्थाले पनि गाउँ गाउँमा पुगरे सिर्जनशील प्रतिभाको खोजी गर्दै उनीहरुको कलाकारिताको राष्ट्रियकरण गर्न जरुरी छ ।” उहाँले भन्नुभयो ।

कार्यक्रमको अन्त्यमा ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशीले सम्पूर्णलाई धन्यवाद दिनुहुँदै सत्य मोहन ‘बा’को ईतिहास चीरकालसम्म रहनेगरी राज्यको औपचारिक शिक्षा प्रणालीमा पनि उहाँको योगदानका बिषयवस्तु समावेश गरेर शैक्षिक पाठ्यक्रम स्थापित गर्न मागसहित ध्यानाकर्षण गराउनु भयो । बि एम आचार्यले संचालन गर्नुभएको उक्त प्रदर्शनी कार्यक्रम आज सोमबारदेखि ५ दिन अर्थात् यही मंसिर २४ गते शुक्रबार सम्म शताब्दी पुरुष निवास ललितपुर बखुंबहालमा बिहान ११बजे देखि ४ बजे सम्म हुनेछ ।

...

All Comments.......


Please Login/Register To Comments