भक्तपुर । भक्तपुर नगरपालिका वडा नं.७ हनुमानघाट स्थित खोह्र दीपमा सुधारिएको शवदाह निर्माण हुने भएको छ । भक्तपुर नगरपालिकाको सहयोगमा स्थानीय उपभोक्ता समितिबाट निर्माण हुन लागेको उक्त शवदाह निर्माणको आज भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिलान्यास गर्नु भयो ।
शिलान्यास कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि जोशीले व्यवस्थित शवदाह समयको माग भएको बताउनुहुँदै सुधारिएको शवदाहले धुवाँ र प्रदुषण कम गर्न तथा वनजङ्गल कम हुँदै गएकोले दाउराको प्रयोग कम गराउन तथ शवदाहको लागि लाग्ने समय समेत बचत हुने भएकोले नयाँ प्रविधि सहितको शवदाह निर्माण गर्न भक्तपुर नगरपालिकाले बजेट विनियोजित गरेको कुरा बताउनु भयो । उहाँले यस निर्माण कार्यले हनुमानघाट क्षेत्रको सरसफाई कार्यमा थप टेवा मिल्ने कुरा पनि बताउनु भयो ।
भक्तपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष उकेश कवांले नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रमा उल्लेख भए अनुसार भक्तपुर नगरपालिकामा आधुनिक शवदाह निर्माण गर्ने कार्य अगाडी बढाएको कुरा बताउनु भयो ।
उहाँले नगरपालिका जनताकै भएकोले यहाँ निर्माण हुने कार्य उपभोक्ता समिति मार्फत गर्नमा जोड दिएको र जनताले साँस्कृतिक सम्पदा तथा विभिन्न निर्माण कार्यमा सहयोग भैरहेको कुरा बताउनुहुँदै सरसफाई गर्ने हरेक नागरिकको कर्तब्य भएको कुरा बताउनु भयो ।
जनप्रतिनिधिहरुको कार्यकाल छँदै निर्माण कार्य सम्पन्न गर्नको लागि उपभोक्ता समिति, कामदार र प्राविधिकहरुले पनि सहयोग पुर्याउनु पर्नेमा उहाँले जोड दिनु भयो ।
कार्यक्रममा पूर्व वडाअध्यक्ष कृष्णगोविन्द खाईजुले हनुमानघाट ऐतिहासिक र सम्पदायुक्त स्थान भएकोले यसको संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो ।
उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य हेरा ख्याजु र स्थानीय बद्रिराम छुस्याबागले पनि बोल्नु भएको थियो ।
कूल रु. ५७ लाख ५७ हजार ४३३ रुपैयाको लागत अनुमान रहेको सुधारिएको शवदाह निर्माणको लागि भक्तपुर नपाबाट पहिलो चरणमा रु. २५ लाख बजेट विनियोजन गरिएको उपभोक्ता समितिले जनाएको छ । यसको मुख्य विशेषताको रुपमा शवदाह गर्दा २ घण्टा भन्दा बढी समय नलाग्ने, परालले छोप्न नपर्ने, फलामे ढकनीको प्रयोग हुने, धुवाँ कम आउने भएकोले प्रदुषणमा कमी हुने, दाउरा साविक भन्दा आधा मात्र लाग्ने र गुठीको परम्परा अनुसार संस्कार पु¥याएर दाहसंस्कार गर्न मिल्ने उपभोक्ता समितिले जनाएको छ ।
...

All Comments.......


Please Login/Register To Comments