News Imageकाठमाडौँ । चिलीको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक विजयी भएका छन् । उनले दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई हराएका हुन् । कास्टले आधा मत गन्दा नै हार स्विकारेका हुन् । बोरिकले ५६ प्रतिशत र कास्टले ४४ प्रतिशत मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस पटकको चुनाव निकै ध्रुविकृत भएको थियो । साथै सरकारविरोधी प्रदर्शनहरूपछि चिलीमा आम चुनाव सम्पन्न भएको हो । दुवै उम्मेदवारले विभिन्न योजनासहित चुनावी प्रचारप्रसार गरेका थिए ।

त्यस्तै दुवै उम्मेदवार अहिलेसम्म सरकारमा सहभागी नभएका राजनीतिक दलका हुन् । विश्वकै कम उमेरका राजनीतिज्ञमध्येका एक ३५ वर्षीय बोरिक चिलीका सबैभन्दा कान्छा राष्ट्रपति भएका छन् । सन् २०१९ र २०२० मा चिलीमा असमानता र भ्रष्टाचारको विरोध गर्दै भएको आन्दोलनमा बोरिकको महत्त्वपूर्ण भूमिका रहेको थियो । उनी पूर्वविद्यार्थी नेतासमेत हुन् । ल्याटिन अमेरिकामा स्थिर अर्थव्यवस्था भएको मुलुक चिलीमा आम्दानीमा भने ठूलो अन्तर रहेको छ । संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार चिलीको २५ प्रतिशत सम्पत्ति एक प्रतिशतको कब्जामा रहेको छ । बोरिकले उक्त खाडललाई पुर्दै पेन्सन प्रणाली र स्वास्थ्य सेवामा सुधार ल्याउने वाचा गरेका छन् ।

त्यस्तै हरित लगानी पनि उनको चुनावी प्रचारको महत्त्वपूर्ण मुद्दा थियो । उनका प्रतिद्वन्द्वी कास्टले भने कानुनी व्यवस्था र करमा कटौतीको मुद्दालाई जोड दिएका थिए । कान्तिपुर
  • Shares

All Comments...


Please Login/Register to comment.