भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ स्थित त्वचा फल्चाको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको बजेटमा उपभोक्ता समितिबाट पुनःनिर्मित २०७२ सालको भूकम्पबाट भत्केको त्वचा फल्चा, त्वचा सडक र गरुडकुन्दको पेटी र पर्खालको पनि संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
    फल्चा उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरभित्रका सरकारी र पर्ति जग्गा संरक्षण र सम्बद्र्धनको जिम्मा स्थानीय सरकारको भएको औंल्याउनुहुँदै भक्तपुर नपाले सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षण का साथै भक्तपुरको रानीपोखरीलाई पुनःजीवन दिने कार्य गरेको बताउनुभयो ।
    भक्तपुरको पुरानो क्षेत्रमा मौलिक शैलीका घर बनाउने नगरबासीहरुलाई नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक अनुदानको योजना अघि सारेको बताउनुहुँदै प्रमुख प्रजापतिले २०७२ सालको भूकम्पबाट भत्केको र लामो समयदेखि जीर्ण अवस्थामा रहेका फल्चा पुनःनिर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो ।
    उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुका कारण भक्तपुर शैक्षिक रुपमा देशकै अग्रणी स्थान हासिल गर्न सफल भएको बताउनुहुँदै ती कलेजहरुले उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्दै समाजलाई बुद्धिजीवीकरण गर्ने कार्यलाई टेवा दिँदै आएको छ भन्नुभयो ।
    सरकारले विकास निर्माणका कार्यमा ठेक्कापट्टालाई जोड दिँदै ठेकेदार पोस्ने कार्य गर्दै आइरहेकोमा भक्तपुर नपाले यहाँका जनताको प्रत्यक्ष सहभागिता हुने गरी उपभोक्ता समितिमार्फत सफलतापूर्वक गुणस्तरीय निर्माणलाई प्राथमिकता दिँदै आएको छ, उहाँले भन्नुभयो ।
    कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले वडाबाट सञ्चालित विविध गतिविधिबारे अवगत गराउनुहुँदै वडाबासीको साथ र सहयोगका कारण काम गर्न सजिलो भएको बताउनुभयो । फल्चा पुनःनिर्माणमा स्थानीय जनताबाट प्राप्त आर्थिक र भौतिक सहयोगबाट आफूहरुलाई हौसला प्राप्त भएको बताउनुहुँदै वडाको सन्तुलित विकासमा ध्यान दिँदै आफ्ना गतिविधि प्राथमिकताका साथ सञ्चालनमा जोड दिइरहेको बताउनुभयो ।
    कार्यक्रममा समाजसेवी ज्ञानसागर प्रजापतिले ठेक्का र उपभाक्तो समितिबाट हुने निर्माणबीचको अन्तरबारे प्रष्ट पार्नुहुँदै ठेकेदारको मुख्य उद्देश्य नाफासँग सम्बन्धित हुने र उपभोक्ताको काम जनसहभागितामा गुणस्तरीय निर्माण गर्ने रहेको बताउनुभयो ।
    नेमकिपा ९ वडा सूर्यमढीका पार्टी इन्चार्ज दिलभक्त कोजुले नेमकिपाको घोषणापत्रअनुसा भक्तपुर नगपालिकाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको र नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने आधारहरु तयार गरिरहेको बताउनुभयो ।
    सोही क्रममा त्वचा फल्चा उपभोक्ता समितिका अध्यक्ष बाबुकाजी प्रजापतिले फल्चा पुनःनिर्माणको आयव्यय प्रस्तुत गर्दै फल्चाको कूल खर्च १४ लाख ५० हजार ७५७ रुपैयाँ रहेको अवगत गराउनुभयो । त्यस्तै गरुडकुन्द पेटी र पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमप्रसाद प्रजापतिले पर्खाल र पेटी निर्माणको लागि जम्मा रु. ४ लाख १५ हजार ९ सय २३ रुपैयाँ खर्च भएको र त्वचा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर खयरगोलीले बाटो निर्माणमा रु. ५ लाख १५ हजार ९२३ रुपैयाँ खर्च भएको आर्थिक विवरण पेश गर्नुभयो ।
    कार्यक्रममा भक्तपुर नपा सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठ, स्थानीय तुल्सीराम प्रजापति र दिपेन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।...

All Comments.......


Please Login/Register To Comments