भक्तपुरको नवदुर्गा गणको नाच (ङालाकेगु जात्रा) आइतबारदेखि भक्तपुरबाट सुरु भएको छ । प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीबाट नाच सुरु हुने परम्परा रहेको छ । जिवित देवताको रुपमा रहेको यो नाच काठमाडौं उपत्यकालगायतका उपत्यकाबाहिरका विभिन्न स्थानहरुमा प्रदर्शन हुने गर्दछ । नाच आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ ।
नाच देवगणहरुले खाली खुटामा प्रत्येक दिन फरकफरक टोलहरुमा प्रदर्शन  गरिन्छ । नवदुर्गा गणका सदस्यहहरुका अनुसार नाच भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिन्छन् । भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा नाच प्रदर्शन गरिन्छन् । साथै टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गर्ने परम्परा रहेको छ ।
नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिकालगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ । साथैे काठमाडौको टोखालगायतका विभिन्न स्थानमा पनि नाच देखाइन्छ । उपत्यका बाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच प्रदर्शन गरिन्छ ।
नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान बनमालाका अनुसार नाचको अनौपचारिक सुरुवात भने प्रत्येक वर्ष पुसको अन्तिम दिनबाट नै हुने गर्दछ । तर औपचारिक रुपमा देखिने गरी नाच भने प्रत्येक वर्ष माघ २ गते साँंझमात्रै सुरु हुन्छ ।
नाचमा मुकुन्डो लगाएर १९ जना देवगण रहने हुन्छन् । नाचमा १३ वटा मकुन्डो रहने र मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् । नाचको क्रममा बाजा बजाउनेसमेत गरिन्छ ।
परम्परागत वेषभूषामा देवगणको प्रतिकका रुपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नुपर्छ । साथै नाचको क्रममा घरपरिवारसँंग छुटिएर वस्नुपर्ने, खानामा बार्नुपर्नेलगायतको परम्परा छ । यी लगायत आर्थिक कारणले नाच संकटमा रहेका नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्यहरु बताउँंछन् ।
नाचका लागि आर्थिकलगायतका विभिन्न समस्याहरु रहेकोले सहयोग हुनुपर्ने माग देवगणहरुले गरे । टोलटोलमा नाच देखाइने भएकाले स्थानीयस्तरका नगरपालिकाका, गाउँंपालिकाहरुले सहयोग पुयाउनुपर्नेमा उनीहरुको विशेष जोड छ । नाच प्रदर्शन गर्न जाने देवगणहरु यस्तो जाडामो पनि खुला आकाशमुनि त्यतिकै सुत्नुपर्नेलगायतका बाध्यता रहेको उनीहरुले सुनाए ।
प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ, जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भन्ने हुँंदैन । मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ । यो जात्रामा दर्शकले सिठ्ठी बजाउँंदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा..... गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्दछन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रुपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो ।
अध्यताहरुका अनुसार मल्लकालबाटै सञ्चालन भएको भने तापनि यो नाच कहिलेबाट सुरु भयो यसको ठोस प्रमाण अझै प्राप्त गर्न सकिरहेको छैन । तर पनि मानव सभ्यताको मातृ सत्तात्मककालदेखि देवीहरूको समूहबाट मानव समाजको बारेमा दिशानिर्देश गराउन जात्रा सञ्चालनमा आएको अनुमान गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments