भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक÷प्रिन्सिपलहरूको अनलाइन जुममार्फत आज बैठक बस्यो ।
 बैठकमा बोल्नुहुँदै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले कोभिड रोकथाम तथा नियन्त्रणमा भक्तपुर नपाले खोप वितरण प्रभावकारी ढंगले सञ्चालन गर्दै आइरहेको र भक्तपुर नपाले १ लाख भन्दा बढीलाई कोभिडविरुद्धको खोपको दिइसकेको अवगत गर्नुभयो ।
 भक्तपुरमा शिक्षाको जग बलियो भएकै कारण आज यहाँ अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको हो, उहाँले बताउनुभयो ।  
 सरकार आफूखुशी स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटिरहेको बताउनुहुँदै स्थानीय तहको निर्वाचन संविधान र कानुनअनुसार वैशाखमै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
 भक्तपुर नगरपालिका स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्म बनाई लागू गर्ने देशकै पहिलो नपा रहेको उल्लेख गर्नुहुँदै उहाँले भक्तपुर नपाले शिशुस्याहारदेखि कलेज तहसम्म शैक्षिक संस्थाहरु सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
 आधारभूत तह परीक्षा समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुर नपाले कक्षा ८ को आधारभूत तहको परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुहुँदै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि शिक्षण र सिकाइका गतिविधिलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।
 बैठकमा स्थानीय पाठ्यक्रम निर्माण दलका संयोजक योगेन्द्रमान बिजुक्छेंले कक्षा ४ र ५ को स्थानीय पाठ्यव्रmमबारे प्रस्तुतीकरण गर्नुभयो ।
 बैठकमा आधारभूत तह समितिका संयोजक दिपक माकले असहज परिस्थितिमा अनलाइन कक्षा सञ्चालन गर्न पूर्वाधारको कमी भएको र अभिभावकहरुमा पनि चेतनाको कमी रहँदा अनलाइन कक्षा सञ्चालन गर्न समस्या भइरहेको बताउनुभयो ।
 सामूहिक परीक्षा समितिका संयोजक तथा मेधा माविका प्रअ गंगाधर हाडाले विद्यालयबाटै अनलाइनमार्फत कक्षा सञ्चालन भइरहेको, खोप लगाउन छुटेका विद्यार्थीहरुलाई आवश्यक खोप उपलब्ध गराइदिन अनुरोध गर्नुभयो ।
 त्यस्तै संयुक्त परीक्षा समितिका अध्यक्ष तथा आदर्शआजाद माविका प्रअ श्रीकृष्ण किसीले अनलाइन कक्षाबाट सबै विद्यार्थी समेटिन नसकेको हुँदा भौतिक रुपमै कक्षा सञ्चालन गर्नुपर्ने, परीक्षाहरु पनि आवश्यक सुरक्षा उपाय अपनाएर भौतिक रुपमा गर्नुपर्ने बताउनुभयो ।
 संस्थागत विद्यालय संघ नेपाल (इसान) का कृष्णराम त्वानाबासुले सिकाइ सहजीकरण निर्देशिका २०७७ बारे विद्यालयहरु प्रष्ट हुनुपर्ने, अनलाइनबाहेकका अरु विकल्पहरु पनि खोजीनीति गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
 प्याब्सन भक्तपुरका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले स—साना विद्यार्थीहरुको लागि अनलाइन कक्षा प्रभावकारी नभएको हुँदा शैक्षिक स्तर झन् झन् खस्किने खतरा रहेको बताउनुभयो । उहाँले स्वास्थ्य मापदण्ड अपनाई भौतिक रुपमा आलोपालो कक्षा सञ्चालन गर्नुपर्ने र १२ वर्षमुनिका विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनु आवश्यक पहल गर्नुपर्ने विचार व्यक्त राख्नुभयो ।
 बैठकमा एन प्याब्सन भक्तपुरका संयोजक पुन्यराम कवांले विद्यार्थीहरुले कोभिडविरुद्धको खोप पाइसकेको अवस्थामा खोप कार्ड अनिवार्य गर्दै भौतिक रुपमा कक्षा सञ्चालन गर्दै जानु उचित हुने बताउनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments