भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको एघारौं नगरसभाको आज एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै सचिव सुवालले जनसहभागिता, जनश्रमदान, जनताको सहयोगमा जनताको सेवा गर्ने अग्रजहरूको मार्गनिर्देशनअनुसार नेमकिपाका जनप्रतिनिधिहरूले कार्य गर्नुपर्ने बताउनुभयो ।
    
सांस्कृतिक नगरका नगरबासीहरू परम्परागत र अन्धविश्वासी नभई विज्ञान र प्रविधिमैत्री समेत हुने भएकोले सोहीअनुसार नगरबासीहरूको सांस्कृतिक स्तर उकास्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    
संघीयताको पूर्ण कार्यान्वयनको लागि स्थानीय तहहरूलाई स्वायत्तता प्रदान गरी विकेन्द्रीकरणको सिद्धान्तलाई लागू गर्नुपर्ने उहाँले बताउनुभयो । अनावश्यक सवारीसाधनमा अत्यधिक खर्च गरी पुँजी निर्माण नहुने हुँदा यस्ता क्षेत्रहरूमा मितव्ययिता अपनाई देशको आन्तरिक उत्पादन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
    
सांसदहरू ठेकेदार हुनु, सरकारको संरक्षणमा गैरकानुनी प्लटिङ हुनु, अयोग्य ठेकेदारमार्फत असुरक्षित र कमजोर निर्माण हुनु आदि कारणले देश अराजकतातर्फ बढिरहेकोमा सचेत पार्दै सांसद सुवालले जनप्रतिनिधिहरूले यस्ता विषयमा जनतालाई सचेत पार्नुभयो ।
    
बिलासी सुविधाका साथ लाखौं बहाल तिरेर होटलमा एमसीसीको कार्यालय सञ्चालन गरी अरबौं रकम दुरुपयोग भइरहेको बताउँदै एमसीसी हिन्द प्रशान्त क्षेत्रको रणनीतिको एउटा भाग भएको र यसले देशको हित नगर्ने प्रष्ट पार्नुभयो । रेमिट्यान्सको भरमा देशको विकास सम्भव नहुने बताउनुहुँदै सांसद सुवालले स्थानीय तहले आ–आफ्नो निर्वाचन क्षेत्रका युवालाई रोजगारी दिने विषयमा कानुन बनाउन जरुरी रहेको बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको ११ औं नगरसभा आफ्नो कार्यकालको अन्तिम नगरसभा भएको बताउनुहुँदै भक्तपुर नपामा निर्वाचित भई सपथ ग्रहण गरेकै मितिदेखि नगर र नगरबासीहरूको हितलाई केन्द्रमा राखी काम गर्दै आइरहेको बताउनुभयो । आ.ब. २०७८।७९ को बजेट कार्यान्वयनको अबस्थाबारे जानकारी गराउनुहुँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईलगायत नगर र नगरबासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका बिषयहरूका साथै थुप्रै विकास निर्माणका कामहरू सम्पन्न गरिसकेको बताउनुभयो ।

केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुपर्नेमा उल्टै सशर्त र समपूरक बजेटमा वृद्धि गर्नु संघीयता र संविधानको भावनाविपरीत भएको बताउनुहुँदै प्रमुख प्रजापतिले स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिइ केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकहरूलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भएको बताउनुभयो ।
  
 प्रमुख प्रजापतिले भन्नुभयो, ‘हामी जनप्रतिनिधिहरूले सँधै नगरबासीहरूको प्रगतिलाई ध्यानमा राखी सेवामा समर्पित भएर काम गर्दै आएका छौं । बाँकी दिनहरूमा पनि जनताको हितमा उदाहरणीय कामहरू गर्दै भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न हाम्रो कार्यकालको अन्तिम दिनसम्म लागिरहनेछौं ।’कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँले भक्तपुर नपाको कार्य गर्ने शैलीबाट आफू निकै प्रभावित भएको बताउनुहुँदै व्यापक जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नेपाल मजदुर किसान पार्टीको परिचय बनिसकेको बताउनुभयो ।
   
भक्तपुर नपाका जनप्रतिनिधि, बुद्धिजीवी, सम्बन्धित निकाय, कर्मचारी र स्थानीयको साथ—सहयोग आत्मगौरव गर्न लायक भएको बताउनुहुँदै सांसद गोसाइँले जनताको मन जितेर देशको भावना र आवश्यकताबमोजिम नेमकिपाले समाजवादी मर्मअनुसार काम गर्दै आइरहेको बताउनुभयो ।
   
भक्तपुर नपाले समाजको आमूल परिवर्तन र समाज रुपान्तरण गर्न जनताको चेतनास्तर अभिवृद्धि गर्दै जनपरिचालन गरी भ्रष्टाचाररहित ढंगले काम गरेको छ । जनताको विश्वास जितेर जनताको एकता स्थापित गर्नुमा भक्तपुर नपाले सफलता प्राप्त गरेको छ, उहाँले भन्नुभयो । एमसीसी विना यो देश विकास सम्भव छैन भन्ने दास मानसितकता शासक दलमा रहेको बताउनुहुँदै सांसद गोसाइँले नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरोधमा जनतालाई सचेत र एकताबद्ध गरी शासक दलको दास मानसिकता उदांगो गर्ने काम गर्दै राष्ट्रको मनोबल उच्च गर्ने काम गर्दै आइरहेको बताउनुभयो ।
  
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षामा गरेको प्रगतिबाट “ख्वप मोडल” विकास गर्न सफल भएको बताउनुहुँदै भक्तपुरलाई नमूना र अनुकरणीय नगरको रुपमा विकास गर्न क्रियाशील रहेको बताउनुभयो ।
    उहाँले भन्नुभयो, हामीले हाम्रो सम्पदाहरूको हरसंभव संरक्षण, पुनः निर्माणको साथै ती सम्पदाहरूको अध्ययन, अनुसन्धान, अभिलेखन र सबलीकरणसहितका पुनः निर्माणका प्राविधिक प्रतिवेदनहरूसहित नयां पुस्ताका लागि संरक्षित गर्दै सुरक्षितका साथ राख्ने कामहरू भइरहेको बताउनुभयो ।

कार्यक्रममा भ.न.पा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले नगरबासीहरूले पु¥याउँदै आएको साथ र सहयोगकै कारण भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न मद्दत पुगेको बताउनुभयो । भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नपाले गरेको असल र सफल कामबारे समीक्षा गर्न यो अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments