काठमाडौं । नेपाल बक्सिङ संघले माघ १५ गते गरेको वार्षिक साधारणसभा विवादित भएको छ । ६ वर्षसम्म साधारण सभा नगरी कार्यकाल सकिएपछि पदाधिकारी र जिल्लाका प्रतिनिधिलाई थाहै नदिई साधारणसभा गरिएपछि विवादित बनेको हो ।
अवैधानिक रुपमा महाधिवेशन गरिएको भन्दै महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा लिखित रुपमा उजुरी दिएका थिए ।
तर, त्यसको सुनुवाई अहिलेसम्म भएको छैन । ‘कार्यसमितिका बहुसंख्यक पदाधिकारीलाई बाइपास गरेर नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनको पनि बर्खिलाप हुने गरी आयोजना गर्न लागेको सो साधारणसभा तत्काल रोकि पाउँ’ भनी महासचिव भट्टाचार्यले मन्त्रालय र परिषद्मा उजुरी दिएका थिए ।
यसैगरी पुस १५ गतेभित्र साधारणसभा गरिसक्ने गरी राष्ट्रिय खेदकुद परिषद्बाट स्विकृति लिए पनि कोरोना भाइरसको तेस्रो लहरले आक्रान्त बनेका बेला माघ १५ गते साधारणसभा आयोजना गरिएको थियो । पहिले भौतिक रुपमै आयोजना खोजिएको साधारणसभालाई लिएर विवाद बढेपछि भर्चुअल रुपमा गरिएको थियो ।
विवादित साधारणसभामा महासचिव, कोषाध्यक्षलगायत बहुसंख्यक पदाधिकारी सहभागी थिएनन् । महासचिव सहभागी नभएको भन्दै केन्द्रीय सदस्य पुष्कर पन्तले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्ने अधिकार विशेषतः अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई मात्रै हुन्छ । तर, बक्सिङ संघले महासचिवले साधारणसभा बहिस्कार गरेपछि केन्द्रीय सदस्यलाई महासचिवको प्रतिवेदन प्रस्तुत गर्न लगाएर प्रचलित सिद्धान्त र ऐन नियमकै खिल्ली उडाउने काम गरेको छ । यसैगरी कोषाध्यक्षको प्रतिवेदन पनि केन्द्रीय सदस्य राम गिरीलाई प्रस्तुत गर्न लगाइएको थियो ।
अध्यक्ष राम अवालेले भने साधारणसभामा कुनै प्रतिवेदन नै प्रस्तुत गरेनन् । आफूले कुनै प्रतिवेदन पेस नगर्ने अनि महासचिव र कोषाध्यक्षको प्रतिवेदन अरुलाई प्रस्तुत गर्न लगाएर राम अवालेले खेलकुदको ऐन, नियम, कानुन र विधानको मात्रै खिल्ली उडाएनन्, लोकतान्त्रिक पद्धतीबाट निर्वाचित महासचिव, कोषाध्यक्षलगायतको अधिकार पनि खोस्ने काम गरेका थिए ।
बहुमत पदाधिकारी र अधिकांश जिल्लाका प्रतिनिधि सहभागी नभएको उक्त भर्चुअल साधारणसभामार्फत विभिन्न निर्णयहरु गरिएको छ । संसारभर भर्चुअल कार्यक्रमले भौतिक रुपमा आयोजना गरिएको कार्यक्रमलेजस्तो मान्यता पाउँदैन ।
भर्चुअल कार्यक्रममा को–को सहभागी थिए भनेर सबैको विवरण पनि राख्न सकिँदैन । साधारणसभाजस्तो कार्यक्रममा देशभरबाट प्रतिनिधि सहभागी हुनुपर्ने हुन्छ । तर, नेपाल बक्सिङ संघले आफ्ना केही व्यक्तिलाई भर्चुअल कार्यक्रममा देखाएर विधान संशोधनलगायतका दूरगामी असर पर्ने कामहरु गर्न खोजेको छ ।
संघमा आफू अनुकुलका व्यक्तिहरुको भर्ती केन्द्र बनाउन उपाध्यक्ष भोजराज सिटौलाले विधान संशोधनको प्रतिवेदन पेस गरेका थिए ।


...

All Comments.......


Please Login/Register To Comments