काठमाडौँ । काठमाडौँ महानगरको कानून तथा मानव अधिकार विभागले कर्मचारीहरुका लागि ‘स्थानीय सरकार र कानून’ सम्बन्धी तालिम आयोजना गरेको छ । आज र भोलि गरी २ दिन हुने तालिममा स्थानीय सरकारसँग सम्बन्धित कानुनी व्यवस्था र प्रयोगका विषयमा प्रस्तुतिकरण र छलफल गरिनेछ ।
तालिम उद्घाटन गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘कानून जानिन भन्न कसैलाई छुट छैन । कर्मचारीलाई झन् छैन । सेवा प्रवाह कानूनबमोजिम गर्नुपर्छ । त्यसैले कानुनी ज्ञान अपरिहार्य छ ।’ मेयर शाक्यले भन्नुभयो, ‘महानगरमा हुने विवादको चाप घटाउन विभागले काम गर्नुपर्छ । दर्ता नगर्दा पक्ष विपक्ष दुवैलाई फाइदा हुने मुद्दालाई दर्ता गर्नुअघि नै सम्झाउन सक्नुपर्छ । उहाँहरुलाई सही बाटो देखाउनुपर्छ । मुद्दा दर्ता भएपछि पक्ष विपक्ष दुवै पक्षको समय वर्वाद हुन्छ । खर्च बढ्छ । यो व्यक्ति, समाज र सार्वजनिक सेवा प्रदायक हामी सबैका लागि घाटा हो ।’
‘हामीले न्यायिक सम्पादनमा धेरै अनुभव लिएका छौँ । काठमाडौँ महानगरको न्यायिक प्रशासन अनुकरणीय हुनुपर्छ । मुद्दा फैसला हुँदा जित्नेले मात्र होइन, हार्नेले पनि चित्त बुझाउन सकोस् ।’ विभागले यसरी कार्यसम्पादन गरोस् भन्ने मेरो चाहना हो । मेयर शाक्यको भनाइ थियो ।
स्थानीय सरकारसँग सम्बन्धित कानूनका विषयमा जनप्रतिनिधि र कर्मचारीलाई सँगै राखेर क्षमता विकासको काम गर्नुपर्छ । कार्यक्रममा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले भन्नुभयो, ‘यसले सेवा प्रदायकहरुविच समान धारणा निर्माण गराउँछ । यसबाट आन्तरिक विवाद घट्छ ।’
तालिममा कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र काठमाडौँ महानगरपालिकाका सन्दर्भमा कानूनको आधारभूत जानकारीका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
स्थानीय सरकार गठन भए यता काठमाडौँ महानगरले करीव ७० वटा कानून निर्माण गरेको अनुभव सुनाउँदै आचार्यले, कानून निर्माण गर्नुभन्दा कार्यान्वयन गर्नु महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । प्रस्तुतिमा विवाद निरुपण ऐन र कार्यविधिको विषय समावेश गरिएको थियो ।
कहिले मुद्दाका रुपमा अगाडि बढाउनु नपर्ने विवाद दर्ताका लागि आउने गरेका छन् भने कहिलेकाहीँ क्षेत्राधिकारभित्र नपर्ने मुद्दा पनि आउने गरेका छन् । तालिममा न्याय प्रशासक रामप्रसाद पौडेलले, काठमाडौँ महानगरमा पर्ने विवाद र क्षेत्राधिकारका विषयमा प्रस्तुतिकरण गर्दै न्याय निरुपणका लागि महानगरले अवलम्बन गरेको पद्धतिका विषयमा चर्चा गर्नुभएको थियो ।
तालिममा विवादमा उजुरी दर्तादेखि निर्णय लिने चरणसम्म पुग्दा अपनाइने प्रक्रियालगायत कानूनका सिद्धान्त, प्रयोग र व्यवहारका विषयमा प्रस्तुतिकरण र छलफल हुनेछ ।

...

All Comments.......


Please Login/Register To Comments