नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिद्धि गणेश साकोसको आयोजनामा भएको आक्सेस पहिलो ब्याचको २३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यक्रमको आइतबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले सहकारी संस्थाहरु रकम लेनदेनमा मात्रै सीमित भए बैंक तथा वित्तीय संस्थाभन्दा कुनै भिन्नता नहुने बताउनुहुँदै सहकारीले सम्पूर्ण सदस्यहरुको साझा हितलाई ध्यान दिएर सदस्यहरुलाई विभिन्न खालका सीपमूलक तालिमहरु सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले भक्तपुर नपा निरन्तर अगाडि बढिरहेको बताउनुहुँदै उहाँले नपाले शिशुशालादेखि कलेजसम्म सञ्चालन गरी देशभरिका विद्यार्थीहरुलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । सहकारी संस्थाले सदस्यहरुको सर्वाङ्गीण विकासको लागि सम्भव भएका कार्यहरु गर्न आवश्यक जनशक्ति तयार गर्नेतर्फ ध्यान दिनुपर्ने भन्दै सहकारी संस्थाहरुले आफ्ना नजिकका सम्पदाहरु सफा गर्ने काममा योगदा गर्ने आशा व्यक्त गर्नुभयो ।
एमसीसी सम्झौताले नेपालको सार्वभौमिकता नै खोस्ने खतरा रहेको बताउनुहुँदै उहाँले अमेरिकी कानुन र नीतिलाई नेपाल र नेपाली जनताले समर्थन गर्न नसक्ने हुँदा देशघाती एमसीसी सम्झौता खारेजीको निम्ति देशभक्त जनताहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
सिद्धि गाणेश साकोसका अध्यक्ष राजन लाखाजुले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुहुँदै एक्सेस ब्राण्डमा आबद्ध हुनु आफैमा गौरवको विषय भएको र यस कार्यक्रमले सहकारी मूल्य, मान्यता र सहकारी अभियानलाई टेवा पु¥याउने बताउनुभयो ।
नेफ्स्कुन सञ्चालक मन्दिरा मिश्रले सहकारी अभियानमा गर्ने कामहरु अझ धेरै बाँकी रहेको बताउनुहुँदै सहकारी संस्थाहरुले समाजको आर्थिक र सामाजिक पक्षलाई उत्थान गर्नेतर्फ जोड दिनुपर्छ भन्नुभयो ।त्यस्तै जनसचेतना साकोसका अध्यक्ष हेमन्तकुमार चौलागाइँले कार्यशाला गोष्ठीले अक्सेस पहिलो ब्याचका सहकारी संस्थाको कार्यकौशलता अझ प्रभावकारी बनाउँदै लाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरु, कोषाध्यक्ष इश्वरमान दुमरुलगायतले बोल्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments