काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन यही फागुन २७, २८ र २९ गते राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । साधारण सभा तथा अधिवेशन कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  साधारण सभा तथा अधिवेशनमा करीब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने  महासंघले जनाएको छ । साधारण सभाकै उद्घाटन सत्रमा प्रधामन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गर्नुहुने कार्यक्रम रहेको छ । अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साधारण सभामा महासचिव एवम् कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन र व्यवसायीहरूका अन्य मागहरुका विषयमा व्यापक छलफल भई काठमाडौं घोषणापत्र जारी गरिनेछ । अधिवेशन स्थल बाहिर निर्माण उद्योग सम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टलहरू रहनेछन् । साधारण सभा तथा अधिवेशन कार्यक्रम रूपमा सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको बताउनु्भयो । एसोसिएट उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले एघारौं संशोधन तत्काल सार्वजनिक हुनुपर्ने धारणा राख्नुभयो । यसैबीच अन्तर्राष्ट्रिय स्तरमा भइरहेको इन्धनको भारी मूल्यवृद्धिसँगै निर्माण सामाग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण  निर्माण व्यवसायीहरू थप मारमा परेका महासंघका महासचिव रोशन दाहालले बताउनुभयो । महासंघका नीतिगत उपमहासचिव तथा प्रवक्ता टंकप्रसाद चौलागाईले निर्माण उद्योगका समस्या समाधान गर्ने २३ औं साधारण सभा तथा १२ औं अधिवशेन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।


...

All Comments.......


Please Login/Register To Comments