भक्तपुर, २६ फागुण । भक्तपुर नगरपालिकाको आयोजनामा पसल व्यवसायीहरुको भेला नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा सभाकक्षमा बिहिबार सम्पन्न भयो ।
प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिले आफ्नो अधिकार प्रयोग गर्दा अरु हानी नोक्सानी र बाधा अड्चन हुन नहुने बताउँदै कानुनले जे गर भनेको छ त्यो नगर्ने र जे नगर भनेको छ त्यो गर्ने सजाँयको भागिदार हुने बताउनुभयो । उहाँले नगरबासीहरुको सहयोगमा भक्तपुर नगरपालिकाको उदाहरणीय कार्यले देश भरिका नगरपालिकालाई सिक्ने अवसर प्रदान भएको जसले गर्दा भक्तपुर नगरपालिका र नगरबासीले सम्मान पाएको र पहिलो हेलाहोचो गर्नेहरुले सम्मान दिएको बताउनुभयो । उहाँले शिक्षा, स्थास्थ्य, कानुन बनाउने, कलेज र अस्पताल निर्माण नमुनाको रुपमा विकास भएकोले विभिन्न नगरपालिका प्रदेश मुख्यमन्त्रीहरु समेत हेर्न आएको बताउनु भयो । उहाँले पेटी र पेटी मुनि सामान राखेर दुर्घटनाहरुबाट बच्न हामी व्यवसायीहरु स्वतःस्फुर्त अनुशासित होस् भनेको चाहेको बताउँदै हाम्रो गल्तीको कारण अरुको ज्यान जान सक्छ र अरुको गल्तीको कारण हाम्रो ज्यान जान सक्ने भएकोले स्वःनियममा बसी अनुशासित समाज तयार गर्ने बताउनुभयो । उहाँले पैसा कमाउने नाममा कम गुणस्तरी, म्याद नाघेको, कमसल, र भ्रष्टाचार गरे धुमिफिरी सडकमा नै आउने भएकोले पैसा श्रमसंगसंगै इज्जत जाने कार्य नगर्न सचेत गराउनु भयो । उहाँले नगरपालिका र नगरबासी व्यवसायी एकजुत छ भन्ने भावना नआएसम्म विकास असम्भव भएकोले हाम्रो एकताको भावनाले नगरपालिकाले प्रशंसा पाइरहेको बताउनुभयो । उहाँले उपभोक्ता कानुनले उपभोक्ता हकहित र संम्रक्षणको अधिकार रहेको बताउँदै कसैको नाफाको निम्ति ज्यान जाने गरी गर्नु हुँदैन भन्नुभयो । उहाँले ग्राहको विश्वास जित्न सके थोरै नाफाले पनि धेरै कमाउन सक्ने बताउँदै एकैचोटी धनी हुने मानसिकताले गलत ठाउँमा पु¥याउन बताउनुभयो । उहाँले कानुनलाई मानिसले परिचालन गर्ने भएकोले नागरिक भावना पालना गरे कानुनी झन्झटबाट मुक्त हुने बताउँदै कर तिर्नु नागरिकको कर्तव्य भएकोले कर करले होइन रहरले तिरौं भने भावना जगाउनु पर्ने बताउनु भयो । उहाँले राम्रो काममा ढिलाई गर्न नहुने बताउँदै थाहापाउने वित्तिकै व्यायामशालाको सामान किनेर अहिलेसम्ममा २७ स्थानमा राखी सकेको बताउनुभयो । उहाँले सर्वभौम, स्वतन्त्र र स्वाधिन नागरिकहरुको शिर झुक्ने काम गर्न नहुने भएकोले विदेशी कानुन लागु हुने विदेशी सहयोग नलिएको र आत्मनिर्भर भएर सम्पदाहरुको पुनःनिर्माण सम्पन्न गरेको बताउनुभयो । उहाँले नगरपालिकाको आर्थिक पारदर्शीताका कारण अक्सिजन प्लान्टमा उल्लेख्य जनताको सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले छोराछोरीहरुलाई गुणस्तरीय, अनुशासित र योग्य शिक्षा नगरपालिकाको कलेजहरुले दिई राखेकोले उच्च पदस्थका छोराछोरीहरु पनि धेरै पढ्न अएको बताउँदै छोराछोरीहरु गलत बाटोमा लागे अनुशासनहिन भए जति पैसा कमाएपनि क्षण भरमा सिध्याइ दिने बताउनुभयो ।
कार्यक्रम बजार अनुगमन समितिका संयोजक एवम् ३ नं वडाका वडाध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम अनुगमन समितिका सदस्य एवम् ६ नं वडाका वडाध्यक्ष हरिराम सुवाल र वडा निरिक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो । कार्यक्रम व्यवसायीहरु रामकुमार पुडासैनी, अनिश श्रेष्ठ, केदार प्रजापति, रत्न प्रसाद सुवाल, विजय कुमार मानन्धरले पनि व्यवसायीहरुको समस्याका बारेमा जिज्ञासा राख्नु भयो ।  

...

All Comments.......


Please Login/Register To Comments