काठमाडौं । नेपाल तामाङ घेदुङ नवौं संघीय महाधिवेनशबाट नयाँ नेतृत्व चयन प्रक्रियामा अघि बढेको छ । आइतबार (फागुन २९ गते) बाट काठमाडौंमा ३ दिनसम्म चल्ने घेदुङको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने छ । झण्डै ६ दशक लामो इतिहास बोकेको घेदुङको नेतृत्वमा अब कस्ता व्यक्ति निर्वाचित हुन्छन् भन्ने जिज्ञासा धेरैमा उब्जिएको छ ।
महाधिवेशनमा ८ सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहने छ । देश संघीयतामा गएसँगै घेदुङको संरचना पनि त्यसैअनुरुप भएकोले प्रतिनिधि र पर्यवेक्षक पनि यसपटक इतिहासमै सबैभन्दा धेरै हुने अध्यक्ष मोहन गोले तामाङले बताउनुभयो ।   
’तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिको लागि हाम्रो आन्दोलन, दीर्घकालीन संघको योजनासहित जुझारु नेतृत्व चयनका लागि नवौं महाधिवेशन’ भन्ने मूल नाराका साथ महाधिवेशन हुँदैछ । यो महिधिवेशनले तामाङ समुदायको पनि सबै वर्ग समुदायलाई समेट्नु पर्ने छ भने समय र परिस्थितिअनुसार समुदायको मुद्दालाई उठाउन सक्ने नेतृत्वको खाँचो रहेको सरोकारवालाको अपेक्षा छ । महाधिवेशनमा हरेक अभियन्ताहरु अघि बढ्न चाहन्छन् र आफ्नो जिम्मेवारीलाई थप बोझिलो बनाउन चाहनु स्वाभाविक पनि हो ।
अध्यक्षको सम्भावित पात्रहरुमा हालसम्म ग्लोबल मिडियाको सम्पर्कमा ६ जना आउनु भएको छ । उहाँहरु नै मैदानमा सक्रिय देखिनुभएको छ । धेरैलाई यो अश्चार्य पनि लाग्न सक्छ, हालका अध्यक्ष मोहन गोलेले अध्यक्षमा लड्ने मुख खोलिसक्नु भएको थिएन । जसले गर्दा धेरैको बुझाई उहाँले नयाँ नेतृत्वलाई अवसर दिनुहुनेछ भन्ने थियो । तर, अध्यक्ष आफै पनि समुदायले चाहेको खण्डमा एक पटक दोहोरिने इच्छा व्यक्त गर्नुभएको छ ।
वरिष्ठ उपाध्यक्ष बेली लामा तामाङ, उपाध्यक्ष कुमारसिं घिसिङ, अर्का उपाध्यक्ष अमिर मोक्तान तामाङ, भाषा साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङ र पूर्वमहासचिव कुमार ब्लोन, सचिव रामकृष्ण ब्लोन नेतृत्वको दाबीमा हुनुहुन्छ । सबै उम्मेवारसँग हामीले उहाँहरुको राय बुझेका छौं ।
हलले चाहेको खण्डमा दोहोरिन्छु ः अध्यक्ष गोले
सुरुवातमै यहाँलाई जानकारी गराउनु पर्दा घेदुङका हालका अध्यक्ष मोहन गोल तामाङ आफै पनि दोहोरिने मनसायमा हुनुहुन्छ । आफ्नो कार्यकालमा कोरोना महामारीले गर्दा काम गर्न खासै नपाएको र थालनी गरिएका केही कामहरु पूरा गर्न पनि पुनः एक पटक नेतृत्वमा रहने उहाँको चाहना छ ।
ग्लोबलसँगको कुराकानीमा प्रतिनिधि तथा पर्यवेक्षकतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘हलले चाहेको खण्डमा म नेतृत्वमा एक पटक फेरि उठ्ने छु ।’ चार वर्षे कार्यकाल भए पनि कोरोना महामारीका कारण महाधिवेशन २ वर्षपछि धकेलियो ।
थालनी गरिएका कामहरु धेरै भए पनि वाग्मती प्रदेशमा मातृभाषा शिक्षा लागू कार्यक्रम भने निकै सम्झनलायक छ । अध्यक्ष गोलेको नेतृत्वमा तामाङ समुदायको हार्डवेयर र सफ्टवेयर दुवै पाटो बनाउन काम भएको बताउनुहुन्छ । भवन निर्माणको प्रक्रिया पनि आफ्नो कार्यकालमा अघि बढेको उहाँको ठोकुवा छ । विद्यालयमा माृतभाषा शिक्षादेखि आजीवन सदस्यता, कल्याणकारी कोष, तामाङ शैक्षिक कोष, अक्षय कोषलगायत धेरै काम भएको बताउनुहुन्छ ।
आफू पुन नेतृत्वमा आएको खण्डमा जति कामहरुका योजना बनेका छन् सबै कार्यान्वयनको पाटोमा लैजाने पनि उहाँको प्रतिवद्धता छ । आफू कुनै पार्टीको गुट उपगुटबाट उम्मेवार नबन्ने भन्दै समग्र तामाङ सामाजको उम्मेवार बन्ने प्रतिवद्धता जायर गर्नुभयो ।
...

All Comments.......


Please Login/Register To Comments