भक्तपुर । भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म अध्यापनका लागि गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यका पदाधिकारीहरुलाई सोमबार धन्यवाद ज्ञापन कार्यक्रम भयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त धन्यवादज्ञापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाबाट गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका पदाधिकारीहरु योगेन्द्रमान बिजुक्छेँ, सिद्धिरत्न शाक्य, उद्धव सुजखू, रोशनराज तुईतुई र राजेन्द्रप्रसाद श्रेष्ठलाई धन्यवाद पत्र, मायाको चिनो र प्रोत्साहनस्वरुप नगद रु. ५० हजार प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाको पाठ्यक्रमबाट नयाँ पुस्तामा कस्तो प्रभाव पारेको छ, व्याख्या विश्लेषणको खाँचो आवश्यक भएको बताउनुभयो ।
भक्तपुरमा स्थानीय पाठ्यक्रमले धेरै राम्रो काम गरेको बताउनुहुँदै उहाँले आगामी दिनहरुमा पाठ्यक्रमलाई अझ परिष्कृत ढंगले अगाडि लान आवश्यक भएको बताउनुभयो ।
भक्तपुरका सम्पदा, बाजागाजा, चाडपर्व, मौलिक परम्परा आदि नेपाली सभ्यताको पहिचान हो भन्दै उहाँले यसको वैज्ञानिक विश्लेषणको आवश्यकता भएको औंल्याउनुभयो ।
स्थानीय पाठ्यक्रममा उल्लिखत विषयवस्तुहरुबाट नयाँ पुस्ता स्वाभाविक रुपमा लाभान्वित हुने बताउनुहुँदै उहाँले शोषणको विरोध हुँदैमा समाजवाद आउँछ भन्नु गलत भएको बताउनुभयो ।
इतिहास, भूगोल र देशको राजनीतिक विषयमा पाठ्यक्रममै समाविष्ट गरी विद्यार्थीहरुलाई विद्यालयस्तरदेखि शिक्षित बनाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले शिक्षकहरुले समाजमा आमूल परिवर्तनको निम्ति योगदान पुर्याउनुपर्छ भन्नुभयो ।
शिक्षकहरुले भाषागत शुद्धाशुद्धी र नेपाली भाषामा विशेष दख्खल राख्नुपर्ने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले विश्वको इतिहास र भूगोलको विषयमा विद्यार्थीहरुलाई राम्रोसँग अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो ।
शासक दलका नेताहरुमा दूरदर्शी सोचको अभाव भएको बताउनुहुँदै उहाँले रुस र युक्रेनबीचको लडाइँमा अमेरिकी साम्राज्यवादको ठूलो हात भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरी भक्तपुर नपाभित्रका ९२ वटा विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागू समेत गरिसकेको र सन्दर्भ सामाग्री ख्वपको पहिचान भाग १ र भाग २ प्रकाशनमा ल्याएको बताउनुभयो ।
सस्तो र गुणस्तरीय शिक्षा अहिले भक्तपुरको विशेषता बनेको छ भन्दै उहाँले
कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई लागू गर्ने भक्तपुर नै पहिलो नगरपालिका भएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरुसँगै भक्तपुरमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरुको शैक्षिक स्तरमा सुधार भएको बताउनुहुँदै उहाँले चिट चोरेर पास गर्ने प्रवृत्ति अन्त्य भएसँगै भक्तपुरका विद्यालयहरुबीच गुणस्तरीय शिक्षाको लागि प्रतिस्पर्धा हुन थालेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले कार्यदलले गरेको कामको प्रशंसा गर्नुहुँदै भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउन यहाँका विद्यालयहरुको धेरै ठूलो देन रहेको बताउनुभयो । नगरपालिकाका आगामी कार्यक्रममा पनि रचनात्मक सुझावको अपेक्षा रहेको बताउनुहुँदै उहाँले एक्काइसौं शताब्दीको लागि योग्य नागरिक तयार गर्ने ढंगले आफ्ना शैक्षिक क्रियाकलापलाई जोड दिनुपर्ने बताउनुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाको स्थानीय पाठ्यक्रममा मूर्त र अमूर्त सम्पदाहरुको इतिहास समावेश भएको बताउनुहुँदै पाठ्यक्रममा अनुसन्धान र खोलमूलक विषयवस्तुलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ भन्नुभयो ।
कार्यदलका सदस्य सिद्धिरत्न शाक्यले समाजको आवश्यकता र रुचिअनुसार पाठ्यक्रम परिमार्जन गर्दै लानुपर्ने आवश्यकता औंल्याउनुहुँदै पाठ्यक्रम र पाठ्यपुस्तकबीचको भिन्नताबारे प्रष्ट पार्नुभयो ।
त्यस्तै सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष श्रीकृष्ण किसीले स्थानीय पाठ्यक्रमले कक्षागत र तहगत रुपमा विद्यार्थीलाई स्थानीय रुपमा रहेको ख्वपको भूबनोट, इतिहास, जनसंख्या, जनजातजाति, संस्कार, सीपलगायतका विषयमा अध्ययन अध्यापन गराउन सहज बनाएको र शिक्षकहरुलाई क्रियाशील बनाएको बताउनुभयो ।
सामुदायिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले पाठ्यक्रमलाई परिमार्जन गर्ने क्रममा धेरै सुधारहरु भएका छन् भन्दै भक्तपुर नपाले निर्माण गरेको स्थानीय पाठ्यक्रम अन्य स्थानीय तहको निम्ति मोडल बनेको र शिक्षण सिकाइ क्रियाकलापलाई सहजीकरण गर्न निर्माण गरिएको स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्रीले धेरै शिक्षक तथा विद्यार्थीलाई धेरै सजिलो बनाएको बताउनुभयो । स्थानीय पाठ्यक्रममा उल्लेख भएका लोपोन्मुख वस्तुहरुको संग्रगित गरी संग्रहालय निर्माण गर्नु उचित हुने उहाँले बताउनुभयो ।
त्यस्तै इसान भक्तपुरका अध्यक्ष पुरुषोत्तम ग्वाछाले कोभिडका कारण पढ्ने वातावरण नभएकोले विद्यार्थीहरुको पढाइ खस्कँदै गएको बताउनहुँदै भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको काम प्रशंसनीय भएको बताउनुभयो ।
एन. प्याब्सन भक्तपुरका अध्यक्ष पुण्यराम कवांले जनताको आस्थाको धरोहर बन्न सफल भक्तपुर नपाले संस्थागत विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै देशविदेशमा समेत भक्तपुर नपा उदाहरणीय काम गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउनुभयो ।
आधारभूत विद्यालय संयुक्त परीक्षा समितिका अध्यक्ष दिपक माकले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास गर्न स्थानीय पाठ्यक्रम कार्यदलले महत्वपूर्ण भूमिका खेलेको बताउनुहुँदै भनपाले पाठ्यक्रम लागू गरिसकेपछि विद्यार्थीहरुले नयाँ कुरा सिक्न पाएको अनुभव गरेका छन् भन्नुभयो ।
भक्तपुर नगर प्याब्सनका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले विद्यालयस्तरमा स्थानीय पाठ्यक्रमको महत्व धेरै भएको बताउनुहुँदै भक्तपुरका कला, संस्कृतिबारे नयाँ पुस्ताका विद्यार्थीहरु जानकार गराउन पाठ्यक्रमको भूमिका उल्लेखनीय भएको बताउनुभयो । संस्थागत विद्यालयको लेखापरीक्षणको समयमा देखिने समस्यामा नगर शिक्षा शाखाबाट आवश्यक सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले स्थानीय पाठ्यक्रम निर्माण कार्यदलको औचित्यता र उद्देश्यमाथि प्रष्ट पार्नुभयो ।
उक्त बधाईज्ञापन कार्यक्रममा भक्तपुर नपाभित्र सञ्चालित ९२ वटा विद्यालयका प्रअ तथा स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments