प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयतहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहीत बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा आज बोल्दै उनले मुलुक स्थानीय निर्वाचनको सङघारमा रहेको भन्दै यसका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक पर्ने बताए ।
प्रधानमन्त्री देउवाले तेमाल गाउँपालिकामा धार्मिक र पर्यटकीय सम्भावना भएको भन्दै भकुण्डे–मेच्छे पौवा सडक, सुनकोसी खानेपानी लगायत स्थानीय आयोजनालाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए।
उनले नवनिर्मित प्रशासकीय भवनबाट जनतलाई दिने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति तीर्थ लामाले तेमाल गाउँपालिका पर्यटकीय क्षेत्र समेत भएकाले यस क्षेत्रको विकासका लागि नेपाल सरकारको सहयोग खाँचो रहेको औँल्याए ।
भुकुण्डेबेशी देखि मेच्छेपौवा सम्मको सडक कालोपत्रेका लागि ४० करोडको बजेट परेको भन्दै थप ६० करोड अवाश्यक रहेको उनको भनाइ थियो ।
बृहत सुनकोशी खानेपानी सम्पन्न गर्न ५० करोड रकम अझैँ अपुग रहेको प्रधानमन्त्री देउवालाई लामाले जानकारी गराएका थिए ।
पूर्वराज्यमन्त्री रहेका नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज सूर्यमान दोङले स्थानीय निर्वाचनमा सरकारमा रहेका दल बीच गठबन्धन आवश्यक रहेको बताएका थिए ।
तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले गाउँपालिकाको समृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको बताउँदै यसका लागि उनले प्रधानमन्त्री सँग स्थानीय विकासका लागि सहयोग आवश्यक रहेको बताए । भकुण्डे–मेच्छेपौवा सडक, बोहोरेदोभान सडक कालोपत्रे गर्न, सरकारी अस्पताल निर्माण गर्न, कृषि तथा बाली विज्ञान पढाइ गर्न, वौद्ध विश्वविद्यालय, भ्यूटावर र तामाङ संग्रहालय निर्माण गर्न प्रधानमन्त्री सँग सहयोगको अपेक्षा गरेको तामाङले बताए ।
तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङलेचार करोड ६४ लाख आठ हजार ८६३ रुपियाँमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।
२०७६ साउन ७ मा गाउँपालिकाले प्रशासकीय भवन निर्माणको काम साङदोर्जे निर्माण कम्पनीलाई दिएको थियो ।
उक्त भवन दुई बर्षको अवधिमा सम्पन्न भएको थियो । प्रधानमन्त्री देउवाले सोही अवसरमा स्वयम्भु, बौद्ध र नमोबुद्ध स्तुपाको उद्घाटन पनि गरेका छन् ।


...

All Comments.......


Please Login/Register To Comments