भक्तपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष श्री रोशनी मैयाँ धौबन्जाले एक समारोह बीच वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री सुवोध कुमार गुप्ताको नेतृत्वमा आएको पदाधिकारीहरुको टोलीलाई भक्तपुरमा स्वागत गर्नु भयो ।
टोलीलाई स्वागत गर्दै श्री धौबञ्जाले देशको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको वीरगञ्जका उद्यमी व्यवसायीहरुको टोलीलाई संघमा स्वागत गर्न पाउँदा खुशी लागेको छ भन्दै महाभूकम्प र कोभिडको महामारीले थलिएको उद्योग व्यवसायहरु भर्खर उठ्न खोजी रहेको यस अवस्थामा समान समस्या भोगी रहेका हामी व्यवसायीहरुले एक आपसमा सहयोगको भावना लिएर कार्य गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो । साथै वहाँले राज्यको लागि निरन्तर कर तिर्ने उद्योगी व्यापारीहरुलाई पनि आफ्नो बृद्धावस्थामा राज्यको तर्फबाट सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सबैले मिलेर आवाज उठाउने विषयलाई महत्वका साथ लिनु पर्नेमा जोड दिनु भयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री सुवोध कुमार गुप्ताले ऐतिहासिक र पर्यटकीय सहर भक्तपुरमा आउँदा छुट्टै आनन्दको अनुभूति भएको बताउनु भयो । भक्तपुरको पर्यटन, हस्तकला र यहाँको मौलिक उत्पादनहरुको व्यापार प्रबद्र्धन गर्न वीरगञ्ज उद्योग वाणिज्य संघले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । उद्यमी व्यवसायीहरुको साझा समस्या समाधानका लागि देश भरका उद्योग वाणिज्य संघहरुको एउटै आवाज हुनु पर्ने भएकोले यस भ्रमणको उद्देश्य उद्यमी व्यवसायीहरुलाई एकजूट गर्नु पनि रहेको कुरा बताउनु भयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री प्रदीप श्रेष्ठ, उपाध्यक्ष श्री गणेश हरी प्रजापति, सचिव श्री विश्वराम दुवाल, कार्य समिति सदस्य श्री गौतम सुवाल, र श्री श्रीया बल्ल लगायत वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुले पनि उद्यमी व्यवसायीहरुको हितका लागि सहकार्य गर्दै अघि बढ्नु पर्ने विषयमा जोड दिँदै आ—आफ्नो बिचार राख्नु भएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments