भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई आज बिदाई गरियो । नगर प्रमुख सुनिल प्रजापतिले अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनुभएर भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनोस्वरुप प्रदान गर्नुभई बिदाइ गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्न हौसला दिनुहुँदै उहाँलाई आगामी दिनहरुमा सफल कार्यकालको कामना गर्नुभयो ।
भक्तपुर नगरपालिकामा सरुवा भई आउने प्रमुख प्रशासकीय अधिकृतहरु निकै छोटो अवधिमै सरुवा भइदिँदा नगरपालिकालाई काम गर्न अप्ठेरो भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अधिकृत बस्यालले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणमा उल्लेखनीय काम गरिरहेको र भक्तपुर नपामा सात महिनाको कार्यकाल निकै फलदायी र स्मरणीय भएको बताउनुभयो । देशकै नमूना नगरपालिकामा बसी काम गर्न पाउनु गौरवको विषय भएको भन्दै उहाँले भक्तपुर नगरपालिकाको कार्यशैलीबाट आफू प्रभावित भएको बताउनुभयो ।
अधिकृत बस्याल भक्तपुर नगरपालिकाबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भई जाँदै हुनुहुन्छ ।

...

All Comments.......


Please Login/Register To Comments