भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ ।
ओस्ला नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगीता यही चैत्र २६ गते मध्यपुर थिमी–४ बालकुमारी प्राङ्गणमा हुने शनिवार पत्रकार सम्मेलन गर्दै जनाइएको हो ।
प्रतियोगितामा उपत्यकाका करिव तीन दर्जन धिमे खलः वा पुचः सहभागी हुने आयोजक ओस्ला नेपालका उपाध्यक्ष एवम् धिमे बाजा प्रतियोगिताका संयोजक सुशिल जोशीले जानकारी दिए ।
एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागिता हुनेछ । एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यबाधकको सहभागिता हुनेछ ।
प्रतियोगिताको विजयी टोलीमध्ये प्रथम हुनेलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने ओस्लाका सचिव रोशन बज्राचार्यले जानकारी दिए ।
प्रतियोगितालाई सफल बनाउन अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको र मूल समिति अन्तर्गत सुशिल जोशीको संयोजकत्वमा कार्यक्रम समिति, प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्राथमिक उपचार तथा स्वयम्सेवक उपसमिति गठन गरिएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा ओस्ला नेपालका पुर्व अध्यक्षले नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माणसँगै मध्यपुर थिमि नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउनका लागि विभिन्न सम्पदाहरु निर्माण गर्दै विभिन्न कार्यक्रम आयोजना अघि बढाएको बताए । उनले पर्यटकीय गन्तव्य बनाउन नगरपालिकामा विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।

...

All Comments.......


Please Login/Register To Comments