भक्तपुर, २१ चैत–भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को विभिन्न उपसमितिको आयोजनामा भएका तालिमहरुको सोमबार एक समारोहबीच प्रमाण पत्र वितरण कार्यक्रम भएको छ ।
सूचना तथा प्रकाशन उपसमितिले गरेको एक हप्ते समाचार लेखन तथा सम्पादन तालिम, व्यवसाय प्रवद्र्धन उपसमितिले फागुन १६ देखि गरेको १० दिने सेल्फ मेकअप तालिम र महिला उपसमितिले गरेको पाँच दिने मिठाइ तालिमका प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि एवं ९ नं. वडाध्यक्ष रबीन्द्र ज्याख्वले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रमुख अतिथि ज्याख्वले मर्यादित र समाजमा सकारात्मक सन्देश जाने समाचार लेख्नुपर्ने बताउँदै उहाँले नैतिकता र इमानदारिता बेचेर कहिल्यै समाचार नलेख्न सुझाव दिनुभयो । उहाँले हाम्रो समाजमा चेतनास्तरको कमी हुँदा गलत मान्छे निर्वाचित भइरहेकोतर्फ सम्पूर्ण जनता सचेत रहनुपर्ने, त्यस्ता व्यक्ति जिताए फेरि पनि जनताले दुःख पाउने स्पष्ट पार्नुभयो । भक्तपुर बचतले जनउत्तरदायी भूमिका निर्वाह गरेको बताउँदै उहाँले नियमित रुपमा गरेका यस्ता तालिमको सदुपयोग गर्नुपर्ने औंल्याउनुभयो ।
त्यस्तै सेल्फ मेकअप तालिम र मिठाइ तालिमको पनि सही सदुपयोग गरे त्यसबाट लाभ हुने अन्यथा अनावश्यक रासायनिक पदार्थको प्रयोगले शरीरलाई हानी नोक्सानी पु¥याउनेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाका सदस्यहरुको विश्वास र इमानदारिताकै कारण संस्थाले विभिन्न सिपमूलक तथा रोजगारमूलक तालिम सञ्चालन गर्न सकेको बताउनुभयो । उहाँले सदस्य सबल भए मात्र संस्था सबल हुने बताउँदै सदस्यहरुका लागि आवश्यक तालिम दिँदै जाने स्पष्ट पार्नुभयो ।
मिठाइ तालिममा २९ जना, सेल्फ मेकअप तालिममा २६ जना र समाचार लेखन तथा सम्पादन तालिममा २६ जनाको सहभागिता रहेको थियो ।
संस्थाका सञ्चालक समिति सदस्य तारादेवी धन्छाले स्वागत गरेको उक्त कार्यक्रममा रामेश्वरी कोजू, समाचार लेखन प्रशिक्षक कृष्ण किसी, प्रशिक्षार्थीहरु मिना प्रजापति, अस्मिता लवजू र सरिना गोसाईलगायतले बोलेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments