भक्तपुर । धेरैलाई लाग्दो हो, भक्तपुरको विस्का जात्रा भनेको ल्योसिंद्य (लिंगो) उठाउने, ढाल्ने, भैरबनाथको रथ तान्ने,जिव्रो छेडने अनि अविर जात्रा हो भनेर । तर भक्तपुरको विस्का जात्रा यतिमा मात्रै सिमित छैन । आठ रात नौ दिन लामो विस्का जात्राको क्रममा भक्तपुरका टोलटोल ठाउँंठाउँंमा जात्राहरु भइरहेका हुन्छन् ।

ती धेरै जात्राहरुमध्ये एउटा प्रख्यात जात्रा हो, महाकाली महालक्ष्मी जात्रा अर्थात् महाकाली महालक्ष्मीको ख ल्वाकेगू खट जुधाउने जात्रा । यो जात्रा प्रत्येक वर्षको विस्का जात्राको क्रममा बैशाख २ गते भक्तपुर नगरपालिका वडा नं वडा नं १० स्थित महाकाली र महालक्ष्मीमा हुने गर्दछ । जात्राको क्रममा हजारौ मानिसहरु सहभागी हुने गर्दछन् । जात्रा विशेष गरेर साँंझ हुन्छ । जात्रा हेर्न भक्तपुरका विभिन्न टोलहरुबाट महाकाली महालक्ष्मीस्थान पुग्ने गर्दछन् जात्राप्रेमीहरु जत्रा हेर्नका लागि ।
महालक्ष्मीका स्थानीयबासी इन्जिनियर कृष्णभक्त दुवालले विस्का जात्राको क्रममा आफूहरुलाई आफूहरुको टोलमा हुने जात्रा मुख्य लाग्ने बताउँंछन् । यो स्वभाविक मानवीय रुप पनि हो, उनी भन्छन्, वास्तवमा निकटता भनेकै यही त हो नि । यो दिन विशेष गरेर स्थानीय महाकाली र महालक्ष्मीका स्थानीयबासीहरु रमाउने गर्दछन् । प्रत्येक वर्ष विस्का जात्राको क्रममा हुने महाकाली र महालक्ष्मीको जात्रामा उनीहरु दमदार रुपमा रमेका हुन्छन् ।

भक्तपुरको महालक्ष्मी र महाकालीको जात्राबारे एक किबदन्ती छ, जुन अहिले पनि त्यतिकै प्रचलित छ । बताइए अनुसार हिजोको दिन अर्थात नयाँ बर्षको पहिलो दिन बिस्केट जात्राको अवसरमा याछें टोलको गणेद्य (गणेश देवता) ले आफ्ना दिदीहरुलाई भोजको निम्तो घरमै नगई भोलाछेंको चौबाटोसम्म मात्र दिएर गई  फर्किन्छन् । घरसम्म पनि नआइकन भाइले भोजको निम्तो दिएको कुरा  नजिकैको दिदी महाकाली देबीलाई जानकारी समेत हुँदैन अरे । यो कुरा उत्ता बेखाल, महालक्ष्मीस्थाननिर बस्ने महालक्ष्मी देबीलाई भोजको कुरा थाहा थियो अरे ।

आजको दिन अर्थात् नयाँ बर्षको दोस्रो दिनमा बहिनी महालक्ष्मीले दिदी महाकालीलाई भाइले भोजको निम्तो गरेको छ भोज जाऔं भनी भोजको कुरा बनाएर  बोलाउन जान्छ्न् र संगै नाच्दै भाइकोमा भोज खानको लागि  दिदीबहिनी याछें पुग्छन् । तर भोज खुवाउने भाइको नाक–मुख नै देख्दैनन् । भाइको अतोपतो नभएपछि रिसले चुर भएर दुई दिदिबहिनी फर्किन्छ्न् र महालक्ष्मीस्थान र भोलाछेंकोबीच बाटो (दुगुजले) भने ठाँउमा बहिनीले त्यसै झुठो कुरा गरेको र भोज खान नपाएको भनी दिदीले बहिनीमाथि रिस पोख्न पुग्छ्न् ।

त्यो रिस दिदिबहिनीको झगडामा परिणत हुन्छ । आज त्यही दिदीबहिनीको झगडालाई जात्राको प्रतीक मानेर विभिन्न बजागाजा र दाफा भजनसहित हर्षोउल्लासका साथ महालक्ष्मीदेबी  र महाकालीदेबीको रथ जुडाउने गर्छन् । स्थानीय हरिकृष्ण दुवाल यही मान्यताका साथ अहिलेसम्म पनि जात्रा चल्दै आएको सुनाउँंछन् । यसबाहेक अरु पनि हुनसक्ने बताइन्छ ।
...

All Comments.......


Please Login/Register To Comments