कीर्तिपुर । स्थानीय तहको चुनावका लागि नेवाःहरुले तयार गरेको नेवाः साझा अडान पत्रप्रति कीर्तिपुरमा क्रियाशिल राजनीतिक दल र दलका उम्मेदवारहरुले आफूहरु निर्वाचित भएको अवस्थामा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
नेवाः देय् दबू कीर्तिपुर नगर समितिको आयोजनामा शुक्रवार कीर्तिपुरमा सांस्कृतिक झाँकी सहित जुलुस प्रदर्शन गरी राजनीतिक दलका कार्यालयहरुमा नै पुगी नेवाः अडान पत्र सम्वन्धित दलका नेतादेखि सम्वन्धित उम्मेदवारहरुलाई दिने क्रममा ती नेता तथा उम्मेदवारहरुले प्रतिबद्धता ब्यक्त गरेका हुन ।
नेवाः देय् दबू काठमाण्डौ उपत्यका विशेष समितिले तयार गरेका १८ बुँदामा कीर्तिपुरसंग सम्वन्धित थप तीन बुँदा समावेश गरि तयार गरेको उक्त अडान पत्रलाई नेवाः देय् दबू कीर्तिपुर नगर समितिका अध्यक्ष बुद्धिलाल ज्यापु, काठमाण्डौ जिल्लाका अध्यक्ष धनबहादुर महर्जन र उपत्यका विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
नेवाः साझा अडान पत्र कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नेहरुमा एमाले कीर्तिपुर नगर समितिका अध्यक्ष राधाकृष्ण बस्नेत, एमालेका मेयर उम्मेदवार केशरत्न बज्राचार्य, उपमेयरका उम्मेदवार विन्दु महर्जन, नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका उपभापति रजिता महर्जन गौतम, कांग्रेसको चुनाव चिन्ह लिइ उम्मेदवार बनेका जनता समाजवादी पार्टीका नेतृ सुनिता महर्जन शाक्य, माओवादी केन्द्रवाट मेयर पदमा उम्मेदवार बनेका प्रा. डा. शिवशरण महर्जन हुन ।
आफूहरु चुनावमा जितेको अवस्थामा नेवाः मंकाः अडान पत्रलाई कार्यान्वयन गर्छु भनी एकीकृत समाजवादीका नेता तथा मेयर उपमेरका उम्मेदवार, नेपाल मजदुर किसान पार्टीका नेता तथा उम्मेदवारहरु पनि रहेका छन् ।
सो अडान पत्रमा कीर्तिपुरसंग सम्वन्धित थप तीन बुँदाहरु यस प्रकारका छन् क) त्रिभुवन विश्व विद्यालय र कीर्तिपुर समुदायवीच २०७२ सालमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, कीर्तिपुर नगरपालिकाको नियम अनुसार नै त्रिविका सबै भवनलाई नक्सा पासा गर्न लगाउने र कानुनी दायरामा ल्याउने । ख) कीर्तिपुर नगर भित्रका सार्वजनिक जग्गा भागाधिकार विभिन्न संघ संस्थाले गरिरहेको अवस्थामा त्यस्ता संस्थाहरुले समाजिक दायित्व पुरा गर्न लगाउन कीर्तिपुर समुदायका लागि संस्थाको आम्दानीको हिस्साको व्यवस्था गर्नुपर्ने । ग) कीर्तिपुर नगरपालिका वडा नं. १ मा रहेको लाय्कू दरवार क्षेत्रको गुरु योजना बनाई तलेजु देवघर तथा मन्दिर नेवाः वास्तुकला अनुसार बनाउनु पर्ने ।


...

All Comments.......


Please Login/Register To Comments