२०७४ वैशाख ३० मा भएको निर्वाचनमा स्मार्ट सिटी बनाउने, फ्लाइओभर बनाउने आकर्षक र लोकप्रिय नारा दिएर चुनाव जितेका चिरीबाबु यस पटक पनि मेयरका उम्मेदवार छन् । पाँच बर्ष ललितपुर महानगरको नेतृत्वमा रहँदा बिवादित र मनोपली ढंगले काम गर्दै कार्यकाल विताएका चिरीबाबु विहिबार विहान वडा नं. २४ धापाखेलमा भोट माग्दै थिए।  ललितपुर वडा नम्बर २४ बाँसघारीको कच्ची तथा हिलाम्मे सडकबाटै भोट माग्दै  माग्दै हिँडिरहेका उम्मेदवार चिरिबाबु महर्जनलाई स्थानीयले सोधे, ‘ अब त यो बाटोमा अब बजेट पर्छ कि ?’ चिरिबाबुले जवाफ फर्काए, ‘पर्नुपर्ने देखियो ।’
विहानीपखको पानीले बाँसघारीको कच्ची सडक हिलाम्मे थियो ।
बिहान साढे ६ बजे श्रीकृष्ण मन्दिरमा जम्मा भएर घरदैलो कार्यक्रम सुरु गर्ने तय गरिएको भए पनि पानी परेका कारण साढे ७ मात्रै उम्मेदवारहरु मन्दिर परिसर पुगेका थिए । मेयर र उपमेयरका उम्मेदवार मन्दिरसम्म गाडीमा आएका थिए ।
स्थानीय नागरिक, नेता÷कार्यकर्ता र समर्थक हिँडेरै आएकाले होला, जुत्ता हिलाम्य भइसकेका थिए । अलिक हिँडेपछि उम्मेदवारका जुुत्ता पनि हिलाम्मे भए ।
स्थानीय अनिल थापाले थपे, ‘मेयर र उपमेयरका उम्मेदवारको घरदैलो कार्यक्रममा गाउँको विजोग देखाउन पाइयो ।’
ललितपुर महानगरपालिका–२४ धापाखेल, नागदह दोबाटो, पशुपति टोल, प्रधान बस्तीलगायत क्षेत्रमा कतै ग्राभेल गरिएको छ, कतै सडकको ट्र्याक मात्रै छ । बिहीबार विहानै पानी परेका कारण सडकमा कतै पानी जमेको थियो त कतै हिलाम्मे ।

त्यही हिलाम्मे सडकमा हिँडेर गठबन्धनका नेता कार्यकर्ता भोट मागिरहेका थिए । सत्तारुढ गठबन्धनको घरदैलो टोली पशुपति टोल पुग्दा स्थानीय श्यामकाजी महर्जन आँगनमा बसिरहेका थिए । उम्मेदवारहरुलाई नमस्कार गरे । नमस्कार फर्काउँदै मेयर उम्मेदवार महर्जनले भने, ‘फेरि पनि उठेको छु, विवेक प्रयोग गर्नुहोला है ।’ ‘भइहाल्छ नि !’ भन्दै श्यामकाजी मुस्कुराएपछि उम्मेदवारहरु अगाडि बढे ।

२०७३ अघिसम्म ललितपुर उपमहानगरपालिका थियो । राज्य पुनर्संरचना गर्दा साविकको हरिसिद्धि, धापाखेल र सुनाकोठी, खोकना, सैंबु र बुङ्‍मती गाविस थपेर महानगरपालिका बनाइएको थियो ।
तर आफूहरु अझै महानगरबासी भएको अनुभूति नभएको श्यामकाजीको बुझाइ छ । ‘भन्नलाई महानगरपालिका भनिन्छ, तर हाम्रोतिर सडककै समस्या छ । खानेपानीकै समस्या छ । ढल निकासको योजना छैन,’ श्यामकाजीले भने ।
२०७४ सालमा स्थानीय सरकार बनेपछि आश्वासनका पोका बाँडेर चुनाव जितेका चिरीबाबु पाँच बर्षमा विरलै मात्रै धापाखेल टेके होलान्। तर चुनाव जितेपछि उनले चुनावी एजेन्डा र जनताका समस्या ध्यान केन्द्रीत गर्न सकेनन् । रिङ्गरोड बाहिर चिरीबाबुको प्राथमिकतामा परेन ।  
महानगरको मेयरमा निर्वाचित भएपछिको पहिलो र दोस्रो बर्ष अधिक विदेश भ्रमण गरेर विवादमा आएका चिरीबाबुलाई तेस्रो वर्षदेखि कार्यपालिकाका बोर्ड बैठक नै भारी पर्न गयो । तोक आदेशको भरमा नै महानगरको सम्पूर्ण काम काज गर्न खोजेका चिरीबाबुलाई तत्कालीन नेकपाका वोर्ड सदस्यहरुले अधिकाँश वोर्ड बैठकमा र्याखर्याख्ती पारे । यसैको फलस्वरूप पछिल्लो नगरसभापछि एक पटक पनि वोर्ड बैठक नराखेरै कार्यकाल सम्पन्न गरे ।
पाँच बर्षसम्म जनताका समस्यामा साक्षात्कार हुन नसकेको चिरीबाबुले तोक आदेशकै भरमा काम गरेर ललितपुर महानगरमा २ अर्ब १५ करोडभन्दा बढी बेरुजुको चाङ लगाए। बेरुजु भ्रष्टाचार होईन, तर बेरुजु अंक बढ्नुलाई भ्रष्टाचार बढेको अर्थमा बुझिन्छ । बेरुजु भनेको खर्च भएको पैसामा स्पष्ट हिसाब प्रमाणित गर्न नसकेको अंक हो ।

यही कार्यकालमा चिरीबाबुले वोर्डबाटै निर्णय नगराई नगरप्रहरी प्रमुखलाई करारमै नियुक्त गर्न समेत भ्याए। महानगरको प्रहरीको चेन अफ कमान्ड सम्हाल्ने व्यक्ति कार्यपालिका वोर्डलाई छलेर नियुक्ति गर्नुले चिरीबाबु शक्तिमा रहँदा तानाशाही बनेको स्पष्ट भएको वताउँछन्  महानगरको वडा नं. १९ का एक स्थानीय ।
तत्कालीन ललितपुर नगरपालिकाको वडा नं.३ बाट २०३८, ०४३ र ०४९ सालमा वडाध्यक्ष बनेका चिरीबाबु लामो समय नगरमा जनप्रतिनिधिका रूपमा रहेकाले महानगरका बासिन्दाले ठूलो अपेक्षा गरेका थिए । तर, यसबीचमा उनले विवाद सिर्जना गर्ने वाहेक प्रगतिका लागि उल्लेखनीय काम गर्न भने सकेनन् ।
आफूलाई मन नपरेको व्यक्ति, समूह र विचारलाई दवाएरै जाने चिरीबाबुको रणनीतिका कारण नेकपा एमाले र माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको बहिष्कारका कारण ९२ सदस्यीय नगर सभामा ६६ जना अनुपस्थित हुने अवस्थासमेत आएको थियो ।
राजधानीभित्र रहेर पनि यो महानगरले जुन गतिमा काम गर्नुपथ्र्यो त्यस्तो देखिएन । न त सङ्घीय सरकारसँग समन्वय र सहकार्य नै हुन सक्यो । नेपालको संविधानले सङ्घीय, प्रादेशिक र स्थानीय तीन तहका सरकारबीच अन्तर्सम्बन्ध, सहकार्य, सहअस्तित्व र समन्वयको व्यवस्था गरेको छ । चिरीबाबुले यसलाई सहजै लत्याईदिए ।

भाषण, मुस्कान र आश्वासनमा चिरीबाबु जति स्मार्ट छन्। उनको व्यवहार र नेतृत्व शैली पाँच वर्ष त्यति स्मार्ट बन्न सकेन । चिरीबाबुलाई महानगरको नेतृत्वमा पाँच बर्ष भोकेका जनताले फेरि मत दिएर अनुमोदन गर्छन् कि पराजित गरेर चिरीबाबु प्रवृत्तिको विश्राम दिन्छन् त्यो हेर्न भने वैशाख ३० को नतिजा नै कुर्नुपर्ने हुन्छ...

All Comments.......


Please Login/Register To Comments