भक्तपुर । भक्तपुरका चार वटै स्थानीय तहमा जित हात पार्न ठुला राजनीतिक दलहरु अन्तिम कसरतमा लागेका छन् । आज राती १२ बजेपछि मौन अवधि शुरु हुने र प्रचारप्रसार गर्न नपाइने भएकाले जित हातपर्ने अन्तिम प्रचारप्रसारमा दलहरु लागेका हुन् ।
सोही क्रममा नेपाली काँग्रेसले मंगलबार मध्यान्ह चाँगुनारायणको हेलमेट डाँडामा अन्तिम चुनावी सभा गर्दैछ । सो चुनावी सभाको प्रमुख वक्ताका रुपमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा उपस्थित हुने नेपाली काँग्रेसले जनाएको छ ।  
यसैगरी नेकपा एमालले पनि मंगलबार जिल्लाका तीन वटा नगरपालिकामा अन्तिम चुनावी सभा गर्ने भएको छ । एमालेले मध्यपुर थिमि, सुर्यविनायकको चक्रपाणी चोक र नलिनचौकमा र भक्तपुरको दत्तात्रयमा चुनावी सभा गर्ने भएको हो । ती सबै सभामा पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने नेकपा एमालेले जनाएको छ । नेमकिपाले भने तीन बजे भक्तपुरको कलविनायक र दूधपाटीबाट जुलुस गरी टौमढीमा पुगेर चार बजे अन्तिम चुनावी सभा गर्दैछ । त्यसैगरी राप्रपा लगायतका दलले पनि अन्तिम चुनावी सभा आयोजना गर्ने जनाएका छन् । निर्वाचन कार्यालय भक्तपुरका अनुसार आसन्न निर्वाचनमा जिल्लाको चार नगरमा ९ सय २८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
मध्यपुरमा दुईदलीय प्रतिस्पर्धा
भक्तपुरको मध्यपुर थिमिमा नगरप्रमुखमा १३ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेपनि गठबन्धन र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ मा भएको निर्वाचनमा मध्यपुर थिमिमा उपप्रमुख सहित छ वटा वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।
नगरप्रमुखमा भने मजदुर किसान पार्टी (नेमकिपा) सँग तालमेल गरेका नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ निर्वाचित भएका थिए । त्यतिबेला एमालेले एउटा वडाअध्यक्ष मात्र जितेको थियो । श्रेष्ठ यसपटक पनि एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । तर, यसअघि जस्तो नेमकिपासँग श्रेष्ठको एलाइन्स भने छैन । एमालेले उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर सुरेन्द्र श्रेष्ठलाई नगर प्रमुखमा उमेद्वार बनाएको छ । सो गठबन्धनका तर्फबाट नेकपा माओवादीका बिजय श्रेष्ठ उप प्रमुखमा उम्मेदवार बनेका छन् ।
अघिल्लो निर्वाचनमा मध्यपुर थिमिमा एमालेसँग गठबन्धन गरे पनि उपप्रमुखमा पराजित भएपछि यसपटक नेमकिपाले एक्लै उम्मेदवारी दिएको छ । नेमकिपाले मध्यपुर थिमि नगरप्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दिक्षा बाडेलाई उम्मेदवार बनाएको छ ।
सुर्यविनायकमा पनि दुई दलीय प्रतिष्पर्धा
नगरप्रमुखमा १२ र उपप्रमुखमा ८ जना चुनावी मैदानमा उत्रिएको सुर्यविनायक नगरपालिकामा पनि गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नगरपालिका प्रमुखमा २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट विजयी भएका वासुदेव थापा पुनः प्रमुखको उम्मेदवार बनेका छन् । सो निर्वाचनमा एमालेले उप प्रमुख, सात वडा अध्यक्ष सहित बहुमत सदस्यमा जित हात पारेको थियो ।
गठबन्धनको तर्फबाट सूर्यविनायक नगरप्रमुखमा नेपाली काँग्रेस सुर्यविनायक नगर समितिका सभापति निशान ढुङ्गेल उम्मेदवार बनेका छन् । सो नगरमा एकिकृत समाजवादी र नेपाली काँग्रेसले गठबन्धन गरेका हुन् ।
गठबन्धनका तर्फबाट उप प्रमुखमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्याम बस्नेत उम्मेदवार बनेका छन् । गठबन्धनको तर्फबाट नगरप्रमुखका उमेद्वार ढुङ्गेलले निर्वाचनमा विजयी भए जनताले दिएको मतदानको गुण तिर्न कुनै कसर बांकी नराख्ने बताए ।
राजधानीसँग जोडिएको नगरलाई थप व्यवस्थित बनाउन पूर्वाधार विकासका अलवा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत कुराहरु निःशुल्क उपलव्ध गराउने ढुंगेलको भनाइ छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सुर्यविनायकका तीन वटा वडाअध्यक्ष सहितका जनप्रतिनिधि निर्वाचित भएका थिए ।
सुर्यविनायकमा नेकपा माओवादी केन्द्रले छुट्टै उम्मेदवार उठाएको छ । केन्द्रको तर्फबाट सूर्यविनायक नगरप्रमुखमा कल्पदिप राई र उपप्रमुखमा नमूना चौलागाइँ उम्मेदवार छिन् । त्यसैगरी नेमकिपाको तर्फबाट प्रमुखमा श्यामु बिसुंके र उपप्रमुखमा चनमती खुलिमुलीले उम्मेदवारी दिएकी छन् । राप्रपाको तर्फबाट नगरप्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण शर्मा ढुङ्गेलको उम्मेदवारी परेको छ ।
अघिल्लो निर्वाचनमा सूर्यविनायक नगरपालिका प्रमुखमा निर्वाचित थापाले आफु निर्वाचित भएपछि सबै जनप्रतिनिधिलाई समेटेर विकास निर्माण गरेको भन्दै नगरलाई थप व्यवस्थित गर्न पुनः उमेद्वारी दिएको बताएका छन् । आफ्नो पा“च वर्षे कार्यकालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा उल्लेख्य सुधार गरेको थापाको भनाई छ । एमालेका तर्फबाट उपप्रमुखमा सरिता भट्टराई (तिमिल्सिना) चुनावी मैदानमा छन् ।
चाँगुनारायणमा चार पक्षीय प्रतिस्पर्धा  
भक्तपुरकै अर्को नगरपालिका चागुनारायणमा भने नगरप्रमुखमा २० र उप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । चागुनारायण नगरमा एमाले, कांग्रेस, नेमकिपा र राप्रपा मुख्य प्रतिस्पर्धी देखिन्छ ।
चांगुनारायणमा नेपाली कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति जीवन खत्री, अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट नगरउपप्रमुखमा निर्वाचित बिणा बास्तोला र राष्ट्रिय प्रजातन्त्र पार्टीका सह महामन्त्री रविन्द्र प्रताप शाह र नेमकिपाका केशवप्रसाद तिमल्सिनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
त्यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकातर्फबाट सुभद्रा काफ्ले, एमालेको तर्फबाट रमेश बुढाथोकी र राप्रकाकी मञ्जु कार्कीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अन्य नगरमा तालमेल भएपनि यो नगरमा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।
नगर प्रमुखका लागि नेपाली काँग्रेसका खत्रीले नगरलाई भ्रष्टाचार मुक्त बनाइ सुशासन कायम गर्न, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका विकास निर्माण, पर्यटन प्रवर्द्धन, कृषिमा आधुनिकीकरण लगायतका काम गर्ने प्रतिबद्धता जनाएका छन् । २०७४ सालको स्थानीय र प्रदेश निर्वाचनमा नेकपा एमालेले विजयी हात पारेको सो क्षेत्रमा २०७६ को उपनिर्वाचनमा नेपाली काँग्रेसका कृष्णलाल भँडेल प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
सो नगरमा नेकपा माओवादी केन्द्रको तर्फबाट नगरप्रमुखमा नरेश खत्री र उपप्रमुखमा चण्डिका पाण्डेको उम्मेदवारी परेको छ । अघिल्लो निर्वाचनमा केन्द्रको एमालेसँग गठबन्धन थियो । चाँगुनारायण नगरप्रमुखमा नेमकिपाका तर्फबाट केशवप्रसाद तिमल्सिना र उपप्रमुखमा कल्पना लामाको उम्मेदवारी छ ।
भक्तपुरका वडा नेमकिपाबाट वडा खोस्ने दाउमा अन्य दल
भक्तपुर नगरप्रमुखमा १४ र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । अघिल्लो स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकाको १० वटै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका थिए ।
यसपटक केही वडा नेमकिपाबाट खोस्ने दाउमा अन्य दल लागेका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पकड रहेको एक मात्र नगर भक्तपुरका केहि वडा हातपार्न नेपाली कांग्रेस र नेकपा एमाले लागि परेका हुन् ।
भक्तपुर नगर क्षेत्रकै मतका कारण नेमकिपाले प्रतिनिधिसभा र प्रदेशसभामा एक÷एक सिट जित्न सफल हुँदै आएको छ । अघिल्लो निर्वाचनका नगरप्रमुख विजयी सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी सहित ७ वटा वडाका वडाध्यक्ष समेतले पुनः उम्मेदवारी दिएका छन् । सो नगरमा नेमकिपा २०३९ बाट लगातार बिजयी हुंदै आएको छ । सो नगरमा पछिल्लो समय अन्य दलमा आस्था राख्नेहरुको संख्या वृद्धि हुँदै गएको स्थानीयको दावी छ ।
गठबन्धन दलले अघिल्लो निर्वाचनमा प्रजापतिका निकटतम प्रतिद्धन्द्धी कांग्रेस नेता रामप्रसाद कासुलालाई नै उम्मेदवार बनाएको छ । त्यसैगरी गठबन्धनबाट उपप्रमुखमा एकीकृत समाजवादीका तर्फबाट ओमचरण अमात्य उम्मेदवार बनेका छन् । एमालेका तर्फबाट भक्तपुर नगरप्रमुखमा रविन्द्र लाछिमस्यू र उप्रमुखमा रञ्जना खर्बुजा उम्मेदवार रहेका छन् । माओवादी केन्द्रले नगरप्रमुखमा तुल्सीभक्त सुवाल र उपप्रमुखमा इन्द्रमाया सुवाललाई उम्मेदवारी दिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments