सन्तोषी सन्जेल
भोलि बैशाख ३० शुक्रबार हुन गइरहेको निर्वाचन हामी सम्पूर्ण नेपाली जनताहरुलाई एकदमै आवश्यक छ । गएको निर्वाचनले लिएर आउन नसकेको परिवर्तन अबको निर्वाचनले लेराउने आशा सहित मतदान गरौँ । मतदान गर्दा
“हाम्रो होइन राम्रो छानौ“
राम्रो छोडेर हाम्रो रोज्ने चलन अझै हटेको छैन हाम्रो समाजबाट । पैसाले नै पद किन्न सकिन्छ भन्ने उदाहरण हामी माझ प्रशस्त मात्रामा भेटिन्छ । अहिलेको वर्तमान गतिविधिलाई नै नियालौ ः “चुनाव अनि चुनावी प्रचार प्रसार।“ आज एजेन्डा अनि संकल्पको कुनै अस्तित्व नरहेको देखिन्छ । उम्मेदवार त तब महान हुँदा रहेछन् जब उनीहरुद्वारा केही छाक मासुभात खुवाइन्छ, साधनको लागि केही समय कुपन प्रणाली लागू गरिन्छ र केही रकम प्रदान गरिन्छ । जब पद पाउनको लागि चलखेल हुन्छ भने पद पाइसकेपछि चलखेल नहुने त कुरै भएन ।
निष्पक्ष तरिकाले उम्मेदवार हामी जनता आफैले रोज्दैनौ । राम्रो रोज्ने समयमा, हामी हाम्रोलाई प्राथमिकता दिने गर्दछौं । उम्मेदवारले देखाएको क्षणिक प्रलोभनमा हामी आफै पर्ने गर्दछौं । आफ्नो स्वाभिमानलाई हटाएर क्षणिक स्वार्थलाई परिपुर्ति गर्ने हामी प्राय जनताको नराम्रो बानी छ । जसले गर्दापछि हामी बिरोधका लागि सडकमा उत्रिन्छौ । त्यस समय हामीले पहिले गरेका गतिविधिलाई फर्केर पनि हेर्दैनौ र आक्षेप लगाउछौ पदमा पुगेको पदाधिकारी अनि नेताहरुलाई । जब जनता त केही क्षणको प्रलोभनमा पर्छन् भने उम्मेदवारलाई त झन नाम, पद अनि पद पाइसकेपछी केही बर्ष गर्न सकिने चलखेलको स्वार्थ छ। हामी जनताको एक भोट पनि निकै अमुल्य छ। विभिन्न प्रकारका प्रलोभनमा परि हजुरको एक भोट बेच्नु भनेको भोट मात्र नभई हजुरको स्वाभिमानलाई बेच्नु सरह हो । त्यसैले आफ्नो स्वभिमान अनि मतलाई कुनै प्रलोभनमा परि नबेचौ।
राजनीतिले हामी सम्पुर्ण जनतालाई धेरै कुरा सिकाएको छ।  राजनीतिको परिभाषा र पद पाइसकेपछिको  वास्तविकता पनि छर्लङ्ग देखाएको छ। हामीले चुनेका प्रतिनिधि नै पछी नेता बन्छन् , सांसद बन्छन् । हाम्रोले पद पाएर आजसम्म केही भएको छैन त्यसैले अबको निर्वाचनमा हाम्रोलाई होइन राम्रोलाई अवसर दिनु अति आवश्यक छ। अबको निर्वाचनमा गर्छु भन्नेलाई होइन गरेरै देखाउछु भन्नेलाई मौका दिनु पर्छ । त्यसकारण मतदान गर्नु अघि नै बिचार गरौं ।
समग्र रुपमा भन्नू पर्दा अझै पनि निर्वाचनको लागि समय बाकीँ नै छ । आफुले मतदान गर्दा स्वार्थ होइन स्वाभिमान र भविष्य अनि हाम्रोलाई होइन राम्रोलाई प्राथमिकता दिनु । पछी सडकमा उत्रिनु र पुर्पुरोमा हात लगाउनु भन्दा आउदो निर्वाचनमा राम्रो चिन्हमा मत लगाउनु नै अति उत्तम सावित हुन सक्छ ।
अन्तमा
निर्वाचनलाई सफल पारौं ,
हाम्रोलाई होइन राम्रोलाई छानी निष्पक्ष रूपमा मतदान गरौं ।।...

All Comments.......


Please Login/Register To Comments