सस्र्यूंखर्क–काभ्रेको तेमाल गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता चन्द्र लामाले तेमालको जनताका अपेक्षा पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । हालै सम्पन्न निर्वाचनबाट गाउँपालिकामा निर्वाचित भएपछि जनतालाई धन्यवाद दिन घरदैलो अभियान आउने क्रममा उहाँले तेमालको जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गर्ने बताउनुभएको हो ।

वडा नं. १ आधाबाटको जोरपीपलमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘थुप्रै ठाउँमा निर्वाचित भएपछि नेताहरुले जनताले भनेजस्तो काम नगरेका कारण जनता निराश भएको मैले सुनेको छु तर तेमाल गाउँपालिकाका जनताले विश्वास गरेर हामीलाई निर्वाचित गराउनुभएकोमा धन्यवाद,हामी दायाँबायाँ हुदैनौं,जनताकै काम गर्छौं,तेमालका जनतालाई निराश हुन दिन्नौं ।’

काँग्रेसका स्थानीय वडा सभापति कुलदास तामाङलाई जनताको सेवामा निरन्तर लाग्न अनुरोध गर्दै उहाँले हतोत्साही नबन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘यहाँबाट यो पटक वडा अध्यक्षको उम्मेद्वार बन्नुभएका कुलदाश तामाङ भर्खरको ३१,३२ वर्षको हुनुहुन्छ,एक भोट कम आयो भन्दैमा हारेको हैन,अर्को पटक अवश्य जित्नुहुन्छ,निराश नभई थप उर्जाका साथ लाग्न म अनुरोध गर्छु ।’

माओवादी केन्द्रका युवा नेता एवं पालिकामा नव निर्वाचित उपाध्यक्ष दलमान(डिएम) थोकरले तेमालको समृद्धिका लागि सहकार्यका साथ अघि बढ्ने बताउनुभयो । उहाँले यो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी लगायत दलहरुको लोकतान्त्रिक गठबन्धनलाई विश्वास गरी मतदान गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाली काँग्रेस वडा इकाई सभापति एवं स्थानीय तह सदस्य निर्वाचन २०७९ मा वडा नं. १ को वडा अध्यक्षका उम्मेद्वार कुलदास तामाङले यो पटकको चुनाव हारेको नभई चोरमाथि चाकरी हुदा समस्या आएको तर्क गर्नुभयो । गाउँमा एमालेले विकास गर्न नसकेको दावी गर्दै उहाँले अर्को पटक जित्नेगरी लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सबै गाउँवासीलाई निराश नहुन आग्रह गर्नुभयो ।

वडा इकाई सचिव सलाम सिं तामाङले गाउँको विकासका लागि नयाँ शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै त्यो अव काँग्रेसमा आवद्ध युवाहरुबाट सम्भव रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा थप उर्जा बटुलेर हिडे यो सम्भावनाले साकार रुप लिने बताउनुभयो ।

निर्वाचनपछि जनतालाई धन्यवाद दिन आयोजित घरदैलो कार्यक्रमको टोलीमा नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षका साथै नेपाली काँग्रेस जिल्ला सदस्य ज्ञान बहादुर तमाङ,क्षेत्रिय नेता रण बहादुर तमाङ,धन बहादुर तामाङ,नेपाली काँग्रेस तेमाल गाउँपालिका सभापति ज्ञान बहादुर तामाङ लगायत काँग्रेस र माओवादी केन्द्रका नेताहरु हुनुहुन्थ्यो । टोलीलाई नेपाली काँग्रेसका वडा इकाई टोली,पूर्व वडा अध्यक्ष काजीमान तामाङ,डिल्लीमान तामाङ एवं काँग्रेस र माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुका साथै स्थानीय मतदाताहरुले स्वागत गरेका थिए ।

टोलीमा आउनुभएका नव निर्वाचित पालिका अध्यक्ष चन्द्र लामा,उपाध्यक्ष दलमान(डिएम) थोकरलाई काँग्रेस पार्टीका नेता,कार्यकर्ताका साथै स्थानीयले माला,खादाद्धारा भव्य सम्मान गरेका थिए ।



...

All Comments.......


Please Login/Register To Comments