भक्तपुर नगरपालिकाको नगर कार्यपालिकामा निर्विरोध निर्वाचित पाँच जना सदस्यहरुको सपथ ग्रहण कार्यक्रम जेठ १७ गते नपाको सभाकक्षमा सम्पन्न भयो ।
नेपालको संविधानको धारा २१६ को उपधारा ४ बमोजिम भक्तपुर नगरपालिकामा निर्वाचित महिला सदस्यहरुमध्येबाट पाँच जना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्था छ ।
त्यस व्यवस्थाअनुसार वडा नं. ३ का सुनिता अवाल (प्रजापति), वडा नं. ५ का  कृष्णप्यारी भुजू, वडा नं. ६ का रोशनमैंया सुवाल, भनपा वडा नं. ७ का रञ्जना त्वाती, वडा नं. ९ का छोरीमैंया सुजखु प्रजापतिको उम्मेद्वारी परेको थियो । पाँचजनाको मात्र उम्मेद्वारी परेकोले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सपथ गराउनुभएको थियो ।
शपथ ग्रहण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिटै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढंगले काम गर्ने बताउनुभयो ।
भक्तपुर नपाले सस्तो लोकप्रियताको लागि नभई भक्तपुर नगर र नगरबासीहरुको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढंगले काम गर्दै आइरहेको बताउनुहुँदै उहााले जनतासँग एकाकार भई काम गर्न सकेत जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एक एक गरी पूरा गर्दै जाने बताउनुहुँदै आगामी कार्यकाल अझ सफल र उपलब्धीमूलक हुने ढंगले काम अगाडि बढाउने बताउनुभयो ।
नवनिर्वाचित भक्तपुर नगरपालिकाका नगर कार्यपालिकाका सदस्यहरुलाई वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
   
...

All Comments.......


Please Login/Register To Comments