भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर परियोजनाको संयुक्त तत्वावधानमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसायीक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदान गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
सो अवसरमा आफ्नो मन्तव्य राख्दै संघका अध्यक्ष शिवप्रसाद मानन्धरले यस परियोजनासित मिलेर अपांगता भएका व्यक्तिहरुका लागि रोजगारीको अवसर प्रदान गर्न सकिने विषयमा छलफल गर्न आयोजित यस कार्यक्रमले त्यस्ता अपांगता भएका व्यक्तिहरुको लागि राम्रो अवसर प्रदान गर्न सकिने सम्भावना उजागर गरेको विचार व्यक्त गर्नुभयो । साथै यसले आगामी दिनहरुमा यो क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने ढोका खोलेको छ र यस्ता प्रयासहरुलाई निरन्तरता दिँदै थप कार्य गर्दै जाने विश्वास पनि दिलाउनुभयो । कार्यक्रमले संघमा पनि अपांगता भएका व्यक्तिहरु जो क्षमतावान छन् तिनीहरुलाई रोजगारी दिनुपर्ने कुराको जिम्मेवारी बोध गराएको पनि सुनाउनुभयो ।
कार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक चिरञ्जिवी शर्माले कुनै पनि देशको विकास र उन्नती त्यो देशको उद्योग व्यापारको अवस्थाले प्रतिबिम्वित गर्ने भएकोले देशको समृद्धिमा उद्यमी व्यवसायीहरुको ठूलो योगदान रहने कुरा बताउनुभयो । अपांगता भएका व्यक्तिहरु पनि देशका नागरिक भएको हुनाले उनिहरुको कमजोरीलाई नभई क्षमता हेरेर समान अवसर प्रदान गरिनुपर्नेमा जोड दिनु भयो । त्यस्तै समाबेशीताको अवधारणा तब सार्थक हुन्छ जब सबै नागरिकले समान अवसर प्राप्त गर्दछ भन्नुभयो ।
संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपानले स्वागत गर्नुभएको कार्यक्रममा परियोजनाका व्यवस्थापक शिव प्रधान तथा तारानाथ सिग्देलले पनि आ–आफ्नो विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु लगायत रोजगारदाताहरुको उपस्थ्तिि रहेको थियो ।


...

All Comments.......


Please Login/Register To Comments