काठमाडौं । नेपालमा बोलिने विभिन्न मातृभाषाहरुमा पत्रकारिता गरिरहेका पत्रकारको संरक्षण, प्रोत्साहन र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्नु पर्नेतर्फ ध्यानाकर्षण गराउँदै दोश्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनले मातृभाषा पत्रकारिताको महत्व प्रकाश पार्दै १० बुँदे घोषणापत्र जारी हो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिताको संरक्षणमा राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । सरकारले नीतिगत एवं व्यवस्थापकीय काम गर्ने हो, कार्यान्वयनमा मातृभाषी समुदायको जिम्मेवारी महत्वपूर्ण हुन्छ उहाँले भन्नुभयो । मातृभाषा पत्रकारिताको माध्यमबाट पत्रकारितामात्र नभइ मातृभाषाको संरक्षण एवं विकाससमेत योगदान पुग्ने भन्नुहुँदै भाषासँग लेख्य परम्परामा रहेको प्राचीन लिपिको संरक्षणमा लाग्न पनि आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । मातृभाषाको संरक्षणबाटै समुदायको भाषा, संस्कृति, संस्कारको संरक्षण हुने र त्यसले सम्बन्धित समुदायको पहिचान जोगाउने काम गर्ने हुनाले मातृभाषालाई जोगाउन अनिवार्य रहेको उहाँले बताउनुभयो ।
मातृभाषी पत्रकारले आफ्नो समुदायको विषयमा मात्र खुम्चिनु उचित नहुने भन्नुहुँदै उहाँले मातृभाषा पत्रकारिताको माध्यमबाट देशको अवस्था, राजनीतिको विषय तथा अन्य पक्षलाई पनि उजागर गर्नुपर्ने उहाँले सुझाउनुभयो । उपप्रमुख डंगोलले मातृभाषा विकासका लागि राज्यमा रहेका जिम्मेवार निकाय र प्रतिनिधिले सकारात्मक भएर देशको मातृभाषालाई जोगाउन योगदान दिनुपर्ने उहाँले बताउनुभयो । देश बहुभाषिक, बहुसांस्कृतिक भएकाले यो पहिचान जोगाउन भाषाको संरक्षण अनिवार्य हुने उहाँले चर्चा गर्नुभयो ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्कार, संस्कृतिको संरक्षण गर्न भाषाको संरक्षण अनिवार्य शर्त भएकाले मातृभाषा पत्रकारिता जोगाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने तर्फ औल्याउनुभयो । नेपालको पहिचान नै बहुभाषिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष मुलुक बनिसकेकाले त्यो पहिचान जोगाउन पनि राज्यले मातृभाषा संरक्षणमा जोड दिनुको विकल्प नरहेको उहाँले बताउनुभयो । मातृभाषा पत्रकारिताले एकातर्फ भाषाको संरक्षण गरिरहेको र अर्कोतर्फ सम्बन्धित समुदायको आवाज सरकारसँग लग्ने र सम्बोधनमा पैरवी गर्ने तथा राज्यको नीति, नियम तथा निर्णयलाई मातृभाषी नागरिकबीच प्रवाह गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पंचायत कालमा नेपालभाषाको एउटा कार्यक्रम जीवन दबू र समाचार बन्द हुँदा उक्त शासनविरुद्धको आन्दोलनमा उछाल आएको, प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको करिब १०० बर्ष अघि प्रकाशित पत्रिकाले पनि राणा शासन अन्त्यका लागि योगदान गरेको उल्लेख गर्नुहुँदै मातृभाषा पत्रकारिता कमजोर रहेको देखिएपनि यी अनि यस्तै उदाहरणले बलियो रहेको पनि दर्शाउँछ भन्नु भयो । तर परिस्थिति बदल्ने क्षमताले मातृभाषाको संचार माध्यम संचालन भइरहने र परिस्थिति फरक भएपछि संचार माध्यम बन्द हुने अवस्थासम्मको भोगाइले नै सम्मेलन आयोजना गर्न प्रेरित गरेको बताउनुभयो । १० बुँदे घोषणापत्र मार्फत सम्पूर्ण मातृभाषी पत्रकारहरुको आवाज प्रष्फुटित भएको उल्लेख गर्नुहुँदै मातृभाषाको पत्रकारिताको संरक्षण र पत्रकारको विकासको लागि सरकारले विशेष नीति ल्याउनुपर्ने माग गर्नुभयो । मुलुक संघीयता गइसकेपछि सो कार्यमा प्रदेश र स्थानीय तह अझ बढी जिम्मेवार हुनुपर्ने पनि अध्यक्ष बज्राचार्यको भनाई रहेको छ ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक नृपेन्द्रलाल श्रेष्ठले सरकारले हरेक वर्ष प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाका पत्रकारहरुलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो ।
सम्मेलनले आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन आग्रह पनि गरेको हो । वि.सं १९८२ नेपाल संवत १०४५ बुद्ध जयन्तिका दिन शुरु भएको नेवाः मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुनेहुनाले २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ । त्यस्तै, सम्मेलनले मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकाशित गर्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।
मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न माग गर्दै सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
सो अवसरमा अजितमान तामाङ र सुरेशकिरण मानन्धरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि विभिन्न मातृभाषी पत्रकारले टिप्पणी तथा धारणा राख्नुभएको थियो । कार्यक्रममा मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, लिम्बु मातृभाषी पत्रकार विष्णु लिम्बु, मैथिली भाषी पत्रकार प्रतिनिधि रुपा झा, तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योन्जन तामाङ, दोलखा नेपालभाषाका पत्रकार उपेन्द्र प्रधान, शेर्पा सञ्चार समूहका अध्यक्ष पाशाङ शेर्पा लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन–२०७९ काठमाडौं घोषणा पत्र (पूर्ण पाठ)
१. आज भन्दा ९७ वर्ष पहिले वि.सं १९८२ साल (नेपाल संवत १०४५) बुद्ध जयन्तिका दिन शुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुँदैछ । यस ऐतिहासिक अवसरमा २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
२. विगत ८ वर्षदेखि हरेक वर्ष बुद्ध जयन्तिको अघिल्लो दिन मनाउँदै आइरहेको  “मातृभाषा पत्रकारिता  दिवस” लाई शताब्दी वर्षदेखि राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गर्दछ ।
३. मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकासित गर्न सरकार समक्ष माग गर्दै त्यसका लागि पहल गर्ने घोषणा गर्दछ ।
४. वि.सं १९८२ सालमा पहिलो पटक नेपालभाषामा बुद्धधर्म पत्रिका प्रकाशन गरी मातृभाषाको पत्रकारिता मार्फत भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पु¥याएका इतिहास पुरुष धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) लाई मातृभाषाको पत्रकारिताको प्रेरक व्यक्तिका रुपमा हरेक वर्ष धर्मादित्य धर्माचार्य जन्मजयन्ती मनाउने परम्परा अब सम्पूर्ण मातृभाषी पत्रकार संघसंंस्थाले राष्ट्रिय उत्सवका रुपमा मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
साथै, यो दोश्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सरकार समक्ष निम्न मागहरु राख्दछस्
५. मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरुको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न यो सम्मेलन माग गर्दछ ।
६. मातृभाषामा प्रकाशितरप्रसारित हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट लोक कल्याणकारी विज्ञापनको विशेष व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।
७. नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न पत्रकारिता पुरस्कारको सवालमा विशेष मापदण्ड बनाई मातृभाषामा पत्रकारिता गर्ने समुदायका पत्रकारलाई अनिवार्य समेट्न यो सम्मेलन सरकारसँग आग्रह गर्दछ ।
८. सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ ।
९. भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अबिलम्ब आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन सरकार समक्ष माग गर्दछ ।
१०. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विभिन्न तथ्यहरुबाट पुष्टि भइसकेको सन्दर्भमा श्री श्रेष्ठलाई अबिलम्ब महासंघको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणहरुको सम्मान गर्न पत्रकार महासंघ, नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला समक्ष यो सम्मेलन जोडदार माग गर्दछ ।

...

All Comments.......


Please Login/Register To Comments