काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष नारायणमान विजुक्छेंले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा अपराधीहरुलाई मृत्युदण्डसम्मको सजायँंको बन्दोवस्त हुनुपर्नेमा जोड दिइएको छ । कृष्णप्रसाद भटराई नेतृत्वको नेपाली कांग्रेसको सरकारको पालामा ज्यान सजाय खारेज गरिएकै कारण अपराध बढेको र शासक दलहरु राजनीतिमा अपराधीकरण गर्न लागेको जनाएको छ । 
नागरिकता विधेयर र एमसीसीलाई मुख्य प्राथमिकतामा राखेको छ । पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले संसद र सडकमा नागरिकता विधेयकको विरोधमा निरन्तर आवाज उठाउने जनाएको छ । साथै एमसीसीका विरुद्धमा पनि निर्वाचित आफना सांसदहरुले आवाज बुलन्द गर्ने उल्लेख छ । 
घोषणापत्रमा जनताबाट निर्वाचित नेमकिपाका प्रतिनिधिहरूले देश र जनताको व्यापक हितमा नीति, कार्यक्रम र विधेयक निर्माण गर्ने एवम् कामदार जनताको पक्षमा पारित गराउन सङ्घर्ष गर्ने उल्लेख छ । साथै देशघाती सन्धि–सम्झौतालाई रोक्न आवाज उठाउने जनाइएको छ ।
प्रदेशसभामा निर्वाचित नेमकिपाका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा बाटो–घाटो, शिक्षा, स्वास्थ्य सेवा एवम् देशमै युवाहरूलाई रोजगारी दिन उद्योग–धन्धा, शिशुशाला, बाल–उद्यान, जेष्ठ नागरिकहरूको सेवा गर्न आदर निकेतन आदिको बन्दोवस्त गर्न ऐन कानुन बनाउन सबै जनतासँग छलफल गर्ने जनाइएको छ । बाटो–घाटोको निर्माण र अन्य सबै सार्वजनिक भवन तथा निर्माण कार्यहरू उपभोक्ता समितिमार्फत गराउने कानुन निर्माण गराउन सदन र सडकमा सङ्घर्ष गर्ने घोषणापत्रमा उल्लेख छ । राजमार्ग र अन्य राष्ट्रियस्तरको निर्माण कार्यमा हिजो कालोसूचीमा परेका र वर्षौँसम्म ठेक्कालाई अलपत्र पारी ठूल्ठूला पुल र सडकलाई बर्बाद पारी देश र जनतालाई दुःख दिने ठेकेदारहरूलाई पुनः ठेक्का नदिलाउने ऐन–कानुन बनाउन संसद् र सडकमा जनतासँग मिलेर देशव्यापी सङ्घर्ष गर्ने जनाएको छ ।
पत्रकारहरुले राखेको जिज्ञासामा पार्टी अध्यक्ष विजुक्छेंले देशको सन्तुलित विकासका लागि काठमाडौ उपत्यका बाहिरबाट निर्वाचित सांसदहरुलाई काठमाडौमा घर बनाउन दिन नहुने बताए । यसो हुन सके उनीहरुको बसाई गाउँंठाउँंमै हुने र त्यसको विकासले गति लिने उनको भनाई थियो । अहिले सवै सेवासुविधा काठमाडौ केन्द्रित हुँदा देशको सन्तुलित विकास हुन नसकेको बताए । 
कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले पार्टीले ५८ जिल्लामा उम्मेदबारी दिएको जनाए । प्रतिनिधिसभातर्फ एक सय नौ जना प्रत्यक्ष र ८९ जना समानुपातिक उम्मेदबार रहेको उनले जनाए । साथै प्रदेशसभातर्फ एक सय २२ जना प्रत्यक्षतर्फ र एक सय ३२ जना समानुपातिकतर्फ उम्मेदबार रहेको जनाए । उनले आफनो पार्टीले चौथौ वढी उम्मेदबार उठाएको जनाए । 
घोषणासभामा पार्टीका सचिव प्रेम सुवाल, केन्द्रिय सदस्यहरु नवराज कोइराला, बजिरसिंह विक, नारायण महर्जन, अनुराधा थापामगर, कृष्णकुमार बैद्यलगायतका मञ्चमा रहेका थिए । 

...

All Comments.......


Please Login/Register To Comments