काठमाडौंः आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा ५ को चुनावी माहोल तातिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा ५ मा कसले बाजी मार्ला ? त्यो यसै भन्न सकिने अवस्था छैन । पूर्वप्रधानमन्त्री समेत रहेका ओली २०६४ सालको संविधान सभा निर्वाचनबाहेक विसं २०४८ सालदेखि पटक–पटक झापाबाट निर्वाचित हुँदै आएका छन् ।

२०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग ओली पराजीत भएका थिए । लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा ओली १४ हजार ९५९ मतमा खुम्चिएका थिए । ओली ०४८, ०५१, ०५६, ०७०, ०७४ को संसदीय निर्वाचनमा निर्वाचित भएका थिए ।

झापा ५ का मुख्य प्रतिस्पर्धीका रुपमा एमाले अध्यक्ष ओलीसहित कांग्रेसका खगेन्द्र अधिकारी रहेका छन् । यस्तै, प्रतिस्पर्धीमा जनता समाजवादी पार्टीका ओममाया आङदेम्वे, लोकतान्त्रिक समाजवादी पार्टीका चन्द्रप्रसाद राजबंशी रहेका छन् । यो निर्वाचन क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ । जसमा १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । 

ओलीका मुख्य प्रतिस्पर्धीका रुपमा रहेका अधिकारी त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै आएका थिए । उनले २०७४ सालमा निर्वाचन लड्नकै लागि साढे १७ वर्षे प्राध्यापन पेशा छोडेका हुन् । विसं २०३१ सालमा झापामा जन्मिएका डा.अधिकारीले भारतको सौराष्ट्र युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन् । डा. अधिकारीले कांग्रेसको राजनीतिक यात्रा २०४८ सालदेखि सुरु गरेका हुन् । उनी त्यसबेला झापाको गौरादह क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष थिए । पछि ०५७ सालदेखि उनले प्राध्यापन पेशा सुरु गरेका थिए । पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्य समेत बनेका अधिकारी दोस्रो पटक ओलीसँग भिड्दैछन् ।

यस्तो छ अंक गणित ?

निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार झापा ५ मतदाता संख्या १ लाख ५४ हजार २८९ छ । २०७४ को निर्वाचनमा झापा ५ मा १ लाख ३७ हजार ५१४ मतदाता थिए । यो पटक गत चुनावको तुलनामा १६ हजार ७७५ मतदाता बढेका छन् । एमाले अध्यक्ष ओलीले २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा २७ हजार ८४२ मतान्तरले विजयी भएका थिए । त्यति बेला माओवादी केन्द्रसहितको गठबन्धन थियो । त्यो बेला एमाले अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याउँदा कांग्रेसका खगेन्द्र अधिकारी २८ हजार २९७ मतमा खुम्चिए । यो पटक भने परिस्थिति फरक छ । कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट अधिकारी चुनावमा भिड्दैछन् भने ओलीलाई राप्रपाको समर्थन छ ।

एमालेले कम्तिमा १० देखि १५ हजारको मतान्तरले प्रतिष्पर्धी काँग्रेस उम्मेदवार अधिकारीलाई पराजित गर्ने विश्लेषण गरेको छ।  यता सत्ता गठबन्धन दल आवद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले धोका नदिए आफ्नो जित सुनिश्चित भएको झापा काँग्रेसको ठम्म्याइँ छ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने वडाहरुमा पार्टीका वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत गणना हेर्दा एमालेका उम्मेदवारले पाएको मत सर्वाधिक छ । जसले पनि ओलीको जित सुनिश्चित रहेको राजनीतिक विश्लेषकहरुको अनुमान छ ।

’हामी तीव्ररुपमा चुनावी प्रचारप्रसारमा छौं, हाम्रो ’पोजिसन’ एकदम राम्रो छ,’ अधिकारीको चुनावी प्रचारप्रसारमा हिँडेका एक कांग्रेसका जिल्लास्तरीय नेताले भने,’ गठबन्धन दलका कार्यकर्ता इमानदार भए ओलीलाई पछार्छौं।’

स्थानीय तहको निर्वाचनका आधारमा गठबन्धन भित्रकै दलहरुको तथ्यांक विश्लेषण गर्ने हो भने पनि हालको सत्ता गठबन्धनको मत ३४ हजार ७९८ छ भने एमाले–राप्रपा गठबन्धनको ४९ हजार ९७२ मत छ ।

यो क्षेत्रमा २९ वटा वडा पर्छन् । गौरादह नगरपालिका १,२,३,४,५,६,७,८,गौरीगञ्ज गाउँपालिकाका ३,४,५,६, दमक गाउँपालिका र कमल गाउँपालिकाका सबै वडा यहि क्षेत्रमा पर्छन् । गत स्थानीय तहको निर्वाचनलाई आंकलन गर्दा एमालेले ४१ हजार ६१९ मत ल्याएको देखिन्छ । काँग्रेसले २२ हजार २२, माओवादी केन्द्रले १० हजार ७८८ मत ल्याएको थियो । यस्तै, राप्रपाले ८ हजार तीन सय ५३ र नेकपा एकीकृत समाजवादीले १९ सय ८८ मत ल्याएको थियो । 


...

All Comments.......


Please Login/Register To Comments