काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि १५ दिनको समयसीमा तोकिएको छ । निर्वाचन आयोगले उम्मेदवारहरूलाई आज १७ कात्तिकदेखि १ मङ्सिरसम्म प्रत्यक्ष चुनावी प्रचार गर्ने अवधि तोकेको हो ।

यस अवधिमा जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन/प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन प्रचारप्रसारमा लागेको खर्चको विवरण उम्मेदवार आफैँले वा उम्मेदवारका प्रतिनिधिमार्फत १५ दिनभित्र आयोगमा बुझाउन अनिवार्य गरिएको छ ।

आमसभा, कोणसभा, मञ्चको तयारी गर्दा लागेको खर्चसमेत समेट्न आयोगले ध्यानाकर्षण गराएको छ । आचारसंहिता उल्लङ्घनका घटना बढेपछि आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई प्रचार अवधिमा कडाइ गर्दै खर्च विवरण २ साताभित्र बुझाउन ताकेता गरेको हो । गत स्थानीय तहमा निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउने समयसीमा तोकिएको थियो ।

अबको १५ दिनभित्र दल र उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा झण्डा प्रयोग गर्न सक्नेछन् । कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न /गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास, धम्की दिन नहुने, कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने आयोगले जनाएको छ ।

आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ । आचारसंहिता लागू भएपछि आयोगमा ७१ वटा उजुरी परेका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत १२ असोजदेखि आचारसंहिता लागू भएको छ । आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझेमा थप दण्ड, सजाय तोकिने प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

‘उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्ड-जरिमाना तथा उम्मेदवारी खारेजीसम्मको निर्णयमा जानुपर्ने हुन्छ । हालसम्म चलेका स्पष्टीकरणबारे हामी यही २५ कात्तिकभित्रै निर्णयमा पुग्नेछौँ’, उनले बुधबार सञ्चारकर्मीहरूसँग भने । आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन भएका र प्राप्त उजुरीबारे अध्ययन गर्ने र तथ्य जुटाएर कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

यसैबीच दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तीमा २४ घन्टाअघि स्थानीय प्रशासन र प्रहरीलाई निर्वाचन प्रचारप्रसार गर्ने मिति, समय, मार्ग र स्थानका बारेमा अनिवार्य जानकारी गराउन भनिएको छ । आचारसंहिताअनुसार प्रचारप्रसार कार्यक्रम बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र गर्न, बालबालिका प्रयोग गर्न, दल र उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न पाइँदैन ।

त्यसैगरी कुनै किसिमको भित्तेलेखन नगर्न, ४ पाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली तथा प्रचारप्रसार गराउन आयोगले निषेध गरेको छ । जुलुस वा आमसभामा भाग लिने, प्रचारप्रसार गर्ने व्यक्तिले दल तथा उम्मेदवारको निर्वाचन चिह्न र झण्डा अङ्कित लोगो, स्टिकर, कमिज, टी–र्सट, गम्छा, मास्क, झोलालगायतका सामग्री प्रयोग गर्न आयोगले कडाइ गरेको छ ।

...

All Comments.......


Please Login/Register To Comments