भक्तपुर । क्षेत्र नं २ को मतगणना जारी छ । सत्ता गठबन्धनका नेपाली कांग्रेसले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो ।

कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सयबढी मतान्तरले अग्रता कायम गरेका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा यो समाचार तयार पार्दासम्म कांग्रेसले दुई हजार तीन सय ३० मतले अग्रता लिएको छ ।

एमाले एक हजार छ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले दुई सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले चार सय २४ र नेपाल मजदुर किसान पार्टीले दुई सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी रहेको छ । भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको छ । यो ७१ दशमलव ९७ मत हो ।

क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले बताए ।

क्षेत्र नं १ मा आज बिहान ८ बजेदेखि मतगणना सुरु गरिने भएपनि केही ढिलो मतगणा हुने बताइएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना चाँगुनारायण नगरपालिका, खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा तयारी भइरहेको प्रमुख न्यौपानेले बताए । आज बिहान ८ बजेलाई आह्वान गरेको सर्वदलीय बैठकपछि मतगणना सुरु हुने उनको भनाइ छ ।


...

All Comments.......


Please Login/Register To Comments