भक्तपुर । २०७९ मंसिर १९, सोमबार
“महिला सामुदायिक स्वयम्सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता” नाराका साथ भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ सोमबार सम्पन्न भयो । 
उक्त अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका विभिन्न वडामा खटिरहेका उत्कृष्ट ३ जना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गर्नुभएको थियो । 
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले स्वास्थ्य स्वयम्सेविकाहरू समाजको सेवा गर्ने सामाजिक कार्यकर्ताको रुपमा परिचालन हुनुपर्ने बताउनुहुँदै स्वयम्सेविकाहरूले समुदायसँग शिष्ट र सम्मानजनक बोलीमा जनतासँग व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
‘जनताको आँखा दुरबिनसरह’ भएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले स्वास्थ्य स्वयम्सेविकाको काम र व्यवहारको मूल्यांकन समाज र समुदायबाट हुने हुँदा जनताको इमानदारिपूर्वक सेवा गर्न प्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नगरबासीहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न रोगहरूसम्बन्धी स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै सामाजिक कार्यकर्ताहरू राजनीतिक कार्यकर्ताको रुपमा रुपान्तरित हुने बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले ‘शिक्षा र स्वास्थ्यलाई एक सिक्काको दुई पाटा’ को रुपमा अगाडि बढाइरहेको बताउनुभयो । उहाँले सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकाको काम सम्मानजनक रहेको उल्लेख गर्नुहुँदै समाज र समुदायलाई सचेत बनाउने काम स्वयम्सेविकाहरूमार्फत नै भइरहेको बताउनुभयो ।
त्यस्तै वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले नगरमा स्वास्थ्य स्वास्थ्यस्वयम्सेविका परिचालनले नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सहज भएको बताउनुभयो । 
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत अतिथि कृष्ण गिरी र  स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले पनि स्वास्थ्य स्वयम्सेविकाको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा भनपा वडा नं. ६ का महिला स्वास्थ्य स्वयमसेविका मन्जु कुम्पाख र ख्वप अस्पतालका कमलकेशरी राजचलले पनि बोल्नुभएको थियो ।
सोही क्रममा प्रमुख अतिथि प्रजापतिले उत्कृष्ट ३  जना महिला स्वास्थ्य स्वयम्सेविकालाई पुरस्कार तथा प्रशंसा–पत्र वितरण गर्नुभयो ।
आज सम्मानित हुनेमा भक्तपुर नपा वडा नं. १० का रामलक्ष्मी दुवाल पहिलो, भनपा ५ का सजना कवां दोस्रो र भनपा १ का शिवलक्ष्मी दुवाल तेस्रो स्थान प्राप्त गरेका थिए ।
...

All Comments.......


Please Login/Register To Comments