नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा पुस ५ देखि ९ गते सम्म भएको भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको समापन समारोह तथा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रम शहिद स्मृति खेल मैदानमा शनिबार सम्पन्न भयो ।
समापन समारोहका प्रमुख अतिथि सुवालले खेलकुदलाई मौलिक हकको रुपमा संविधानमै व्यवस्था गर्नुपर्ने बताउनुहुँदै यस व्यवस्थाले सबै नेपालीले खेल खेल्न सक्ने अवस्था सिर्जना हुने बताउनुभयो ।
उहाँले खेललाई सार्वभौमिकतासँग जोड्नुपर्ने बताउनुहुँदै देशमा रासायनिक मलको अभाव सृजना हुँदा वेवास्ता गरी विदेशबाट खाद्यान्न आयात गर्ने अवस्थामा पु¥याउने कृषिमन्त्रीले राजिनामा दिनुपर्ने र कृषि मन्त्रालयको औचित्य नरहेको जिकीर गर्नुभयो ।
कार्यक्रमका सभापनि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले पौष ५ गतेदेखि ९ गतेसम्म नपाका सबै वडामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरी खेल महोत्सवको रुपमा मनाइएको बताउनुहुँदै सो खेल महोत्वसमा आन्तरिक तथा वाह्य पर्यटकहरुले समेत विभिन्न खेलहरुको अवलोकन गरेको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा नेमकिपाले जारी गरेको घोषणापत्रमा प्रत्येक वर्ष एउटा खेलको अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता अनुसार यस वर्ष खो–खो खेलको अन्तरनगर खेलकुद प्रतियोगिता हुने घोषणा गर्नुभयो ।
खेलकुद प्रतियोगिताले देशभक्त नागरिक तयार गरेर अनुशासित खेलाडी उत्पादन हुने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका सभासद सृजना सैंजुले विद्यालय जीवनको लागि आवश्यक पर्ने शिक्षा कक्षा कोठाभित्रबाट सम्भव नहुने भएकोले खेलकुदको माध्यमद्वारा विद्यार्थीहरुको चौतर्फी विकास हुने र छात्राहरुलाई आत्मरक्षाको निम्ति टेवा पुग्ने बताउनुभयो । विश्वकप फुटबल प्रतियोगिता सञ्चालन भएको राष्ट्र कतारमा फुटबल स्टेडियम निर्माणको क्रममा करिब ११४६ जना नेपालीहरुले अनाहकमा ज्यान गुमाउनु परेको स्मरण गर्नुहुँदै नेपाल सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको कुरा बताउनुभयो ।
समापन कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक तथा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नयाँ पुस्तालाई अनुशासित बनाउन तथा विकृति र विसंगतिबाट टाढा राख्ने उद्देश्यले नगरपालिकाले चुनावी घोषणापत्रलाई मार्गनिर्देशनको रुपमा लिई हरेक वर्ष नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बनाउनुभयो । ७९ वटा विद्यालयहरुको सहभागिता रहेको यस वर्षको प्रतियोगितामा १४ वटा खेलहरुमा २५९८ जना खेलाडीहरुबीच प्रतिष्पर्धा भएको बताउनुहुँदै खेलाडीहरुलाई ९०३ वटा पदक तथा ११४० वटा प्रमाणपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय भलिबल खेलका प्रशिक्षक विनोद चरण रायले भक्तपुर नगरपालिकाले आयोजना गरेको यस प्रतियोगिताले भक्तपुर नपा शिक्षा, संस्कृति, स्वास्थ्य, सम्पदा संरक्षणमा जस्तै खेलकुद क्षेत्रमा पनि मोडेलको रुपमा विकास हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले १४ वटा खेलकुदमा उत्कृष्ट खेलाडी एवं विद्यालयहरुको नतिजा घोषणा गर्नु भएको थियो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले विभिन्न खेलमा उत्कृष्ट खेलाडीहरु एवं विद्यालयहरुलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो भने बागमती प्रदेशका सभासद् सैंजुले कराँतेको काँटा प्रदर्शनी गर्ने खेलाडीहरुलाई मायाको चिनो तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमका सभापति एवं प्रमुख प्रजापतिले खेलमा सहभागी ७९ विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गर्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments