भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा लागु गरिएको कक्षा ८ को ‘ख्वपको पहिचान’ पाठ्यक्रमअन्तर्गत भक्तपुरकै विशिष्ट पहिचान भएको झ्व भ्वय्को बारेमा जानकारी दिने उद्देश्यले प्रयोगात्मक परीक्षाअन्तर्गत भक्तपुरको एउटा स्कुलमा नेवाः झ्वः भ्वय (नेवार समुदायको सुकुल भोज) कार्यक्रम गरिएको छ । भक्तपुर नगरपालिका वडा नं ९ स्थित वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरूको आयोजनामा कमलविनायक परिसरमा ‘झ्व भ्वय्’ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत विद्यँर्थीलाई नेवार समुदायले भोज गर्दा लहरै सुकुलमा वसेर पातको थालमा राखेर भोज खुवाइएको थियो । 
वागीश्वरी मा वि कक्षा ८ का विद्यार्थीहरुले विभिन्न ’भ्वय्’ परिकार पकाएर पस्केका थिए । कक्षा ८ का २०० भन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष सहभागी भई ’झ्वः भ्वय्’को ज्ञान र सीप सिकेर ’झ्वःभ्वय्’सम्बन्धी अभिवृत्तिमा परिवर्तन गर्ने अवसर प्राप्त गरेका छन् । 
कक्षा ८ का छात्र आशिष् प्रजापतिको सभापतित्त्वमा सम्पन्न एक औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आशनबाट वागीश्वरी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं भनपा ९ नं वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वःले स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारी लागू गर्ने अधिकार भए अनुसार तयार पारेर सोको ख्वपको पहिचान नामक विषय क्रमैसंग कक्षा १ र ६ देखि लागू गरेर हालसम्ममा कक्षा ८ सम्मनै लागू गरिसकेको र वागीश्वरी मावि वाग्मती प्रदेशकै नमूना विद्यालय भएको र यहाँ नेपालकै विभिन्न जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरु आइरहेकाले यसरी ’नेवा झ्वःभ्वय्’ नै विद्यार्थी स्वयम्ले आयोजना गरेर एउटा उदाहरणीय र अनुकरणीय कार्य हुन गएको खुशि व्यक्त गरे । 
विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले पनि शुभकामना दिए भने छात्रा ममता थापाले स्वागत गर्दै कार्यक्रम गर्नुको औचित्य बताइन् । धन्यवाद ज्ञापन छात्रा सुलक्षणा सापकोटाले गरिन् । कार्यक्रम सञ्चालन शिक्षक धनेशराज राजोपाध्यायले गरेका थिए । विद्यार्थी र शिक्षकबाटै धिमेबाजा सहित र शिक्षिकाहरुका समूह ’हाकुपातासि’ पहिरनमा विद्यालय परिसरबाट भोजस्थलसम्म पुगेको दृश्यले वातावरणनै थप रोमाञ्चित बनाएको थियो ।
भक्तपुर नगरपालिकाले स्थानीय तहको शिक्षा ऐन, २०७४ जारी गरेको थियो । संगसंगै स्थानीय पाठ्यक्रम पनि जारी गर्न सक्ने भएपछि पहिलो वर्ष भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरुमा कक्षा १ र ६ मा लागू हुने गरी स्थानीय पाठ्यक्रम जारी गरी सो अन्तर्गत “ख्वपको पहिचान“ विषय सार्वजनिक गरेको थियो । यसलाई क्रमैसित माथिल्ला कक्षाहरुमा लागू गर्दै गएर हाल आएर कक्षा १ देखि ८ सम्म नै सो विषय अध्यापनका लागि दैनिक एक घण्टी छुट्याउनुपर्नै भइसकेको छ । यसमा जम्मा ११ क्षेत्रहरु समेटिएका छन् । तीमध्ये आठौं क्षेत्र रहेको छ– स्थानीय व्यवसाय, सीप र प्रविधि पेशा।यही क्षेत्रको एक प्रमुख विषय रहेको छ– नेवार खाद्य परिकार । कक्षा १ देखि ८ सम्म नै कुनै न कुनै नेवार परिकारका विषयमा कक्षा र तह अनुसार सिकाइ समावेश गरिएको छ । यहाँ कक्षा ८ को ख्वपको पहिचान अन्तर्गत नेवार खाद्य परिकारमा नेवारहरुको “नेवाः झ्वः भ्वय्“ बारे चर्चा गरिएको छ ।
’भ्वय्’ नेवार समुदाय र समाजहरुभित्र सुख र दुःख दुबै अवस्थामा आयोजन गरेर आतिथ्य गर्नुपर्ने विषय हो । नेवारहरुले वर्षभरी र आफ्नो जीवनभरी थुप्रै संस्कृतिहरु, संस्कारहरु र कर्महरु सम्पन्न गर्दछन् । ती सबैमा ’भ्वय्’ अनिवार्य गरिन्छन् । नेवारहरु वर्षभरीमा २५ वटा भन्दा बढी चाडपर्वहरु मनाउँछन् । गर्भधारणदेखि मरणोपरान्त सुखका र दुःखका ’भ्वय्’ आ–आफ्नो गच्छे अनुसार आयोजना गरेकै हुन्छ । वास्तवमा संस्कार, संस्कृति र कर्महरु ’भ्वय्’बिना पूर्ण हुँदैनन् । यही कारण यही कुरा बुझाउन कार्यक्रम गरेको स्कुलले जनाएको छ । 
’वाउँलप्ते’(हरियो सालको पात गाँसेर बनाइएको ’लप्ते’ आठवटा पात गाँसेर बनाइन्छ । यसको बीचमा ’तुयूबजि’ (सेतोच्यूरा) र सोमाथि’ स्याबजि’ (च्यूरा भुटेर बनाइएको एक खाद्य) र ’हाकुमुस्या’ (कालो भटमास) अनि यसको वरपर, दायाँ र बायाँ क्रमैसंग शाकाहारी र मांसाहारी परिकारहरु पस्केर सजाउँदछन् । ’भ्वय्’ खानेको दायाँतिर शाकाहारी परिकार पस्किन्छन् भने बायाँतिर मांसाहारी परिकार पस्किन्छन् । यसले नेवारहरु शैवमार्गी भइकन पनि विष्णुलाई पनि मान्दछन् र वैदिक र तान्त्रिक दुवै विधिबाट देवी र देवताको पूजा गर्दछन् भन्ने संकेत पनि दिन्छ । 
’भ्वय्’मा परिकारहरु पस्किदिनेलाई ’लैका’ वा ’भालिं’ भनिन्छ ।’ अय् ला’( रक्सि) राखिदिन प्रयोग हुने धलौटको वा माटोको ’अन्ति’ र ’थ्वं’ (जांड) ’स्वमा’ (माटोबाट बनेको करुवा जस्तो भाँडो जो कालोरंगको हुन्छ) । अनि थाप्नको लागि ’सलि’ हुन्छ । 
’ब्व छुयेगु’ मा वः(बारा) र चतांमारी (चामलको पीठोमा पानी राखेर तयार पारिएको घोल फलामको तावा (भाजं) मा गोलाकारमा फिजाई छोपेर पकाइएको),’लाभापालु’ (लसुनअदुवा) र पीठपूजाको प्रसादको रुपमा ’ खें’( अण्डा तारिएको) हुन्छ । यसरी ’ब्व छुयेगु’काम सकिन्छ ।
’ब्व छुयेगु’ सकेपछि ’भ्वय्’खानेहरु हात धोएर ओछ्याइएको लामो सुकुलमा लहरै पलेंटी कसेर बस्छन् र ’लैका’ वा ’भालिं’ ले क्रमैसंग परिकार पस्कन थाल्छन् । बीचबीचमा च्यूरा थप्न गइरहन्छन् । जांड,रक्सि थप्न पनि सुलिं मय् जुहुरु गइनैरहन्छन् । परिकार पकाउने र पस्किने काम भने पुरुषहरुकै हुन्छ । लाम लागेर बस्नु भनेको ’झ्वःछुयेगु’ हो । त्यसैले ’झ्वः भ्वय्’ भनेको लहरै बसेर खाने भोज भन्ने बुझिन्छ भने सुकुलमा लहरै बसेर खाने भोज भएकोले अचेल ’सुकुभ्वय्’ पनि भन्न थालिएको छ ।’ सुकुः’भनेको सुकुलको प्राकृत रुप हो ।



...

All Comments.......


Please Login/Register To Comments