विभिन्न विधाका विद्वान, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका विचार तथा भावना लिपिबद्ध गरिएको पृष्ठहरूको सङ्गठित स्वरूप वा ठेली नै साधारणत: पुस्तक हो । पुस्तकलाई संस्कृत भाषामा ग्रन्थ भनिन्छ भने अरबी भाषाबाट ‘किताब’ मा आउँदा नेपाली बोलिचालीमा कितापसम्म भएको छ । नेपाली बृहत् शब्दकोशमा पुस्तकको अर्थ पढ्ने, पढाउने उद्देश्यले तर्क, विचार, भावना, ज्ञान विज्ञान आदिका कुरा लेखिएको छापिएको ग्रन्थ भनिएको छ । मानिस एक गतिशील सामाजिक उत्तरदायित्व बहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सीप र कला कौशललाई संरक्षण संवद्र्धन गर्दै भविष्यको पुस्ताका लागि हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोत साधनको उपयोग गरिन्छ । जहाँ प्राचीन कालदेखि नै जनचेतनाको विकासपछि मानिसहरूले आफ्नो धर्म, दर्शन, कला र संस्कृतिलाई लेख्ने कला तथा सीपको विकास गर्दै चीरकालसम्मका लागि सुरक्षित र संवद्र्धन गर्न नरम माटो, काठका टुक्रा आदिमा लेख्ने कोर्ने गर्न थालेको पाइन्छ । सुमेरियनले सर्वप्रथम ई पू ३१०० देखि २३५७ सम्ममा आफ्नो इतिहास, धर्म, संस्कृति, दर्शन तथा चौपायाका चित्रहरू नरम माटोमा लेख्दै सुकाएर ग्रीक रोमन,चीन र भारतीयहरूले भोजपत्र, ताडपत्र, कछुवाको सेल, बाँसको बोक्रामा आफ्नो कला, धर्म, दर्शन, इतिहास, संस्कृति लेखी गुफा तथा मठमन्दिर पाटीपौवा, चैत्य गुम्बामा ज्ञान सामग्रीको रूपमा संरक्षण गर्दै जाँदा पुस्तक र पुस्तकालयको विकास भएको मान्नुपर्छ । पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त गरेका अनुभवलाई अझ परिष्कृत बनाउन पुस्तकजन्य पाठ्यसामग्रीको गहन अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ । प्राचीन समयमा प्राप्त गरेको ज्ञान सीपको संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर, मस्जिद, गुम्बाचैत्य, पाटीपौवा तथा आधुनिक समाज तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन छुट्टै शाखा वा भवनमा पुस्तकको संरक्षण र परिचालन एवं वितरण गरिएको हुन्छ जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको रूपमा लिइन्छ । पुस्तकको अध्ययन संस्कृति विकास हुन नसक्दा समाजमा अनेकौँ विकृति र समस्या फैलिएको छ । कोरोनाको कारण निम्तिएको विश्वव्यापी लकडाउन र लनलाइन प्रविधिको विकासले पुस्तकको विकल्प तथा विकासको रूपमा विभिन्न किसिमका डिजिटल सामग्री जस्तैः मोबाइल, आइफोन, आइप्याडजस्ता ग्याजेट्सको अत्यधिक प्रयोग भएको छ । जसले आँखाको ज्योति विस्तारै खराब हुँदै आँखामा आँसु आइराख्ने, धमिलो देख्ने, टाउको दुख्ने, आँखा रातो हुने समस्याले सताउने गर्छ । औँलाको छाला पनि कडा बन्नसक्छ । मोबाइल फोनको अत्याधिक प्रयोगले सबैभन्दा बढी असर निद्रामा पर्छ । रातको समयमा घण्टौँसम्म फोनमा कुरा गर्दा तथा च्याटमा व्यस्त रहँदा मानिसहरूले निद्रालाई उपेक्षा गर्छन् । कम्तीमा पनि दैनिक ६–८ घण्टा निदाउनु मानिस शरीरको लागि अत्यावश्यक हुन्छ । तर, मोबाइलले निदाउने समयको कटौती गरिदिन्छ । जसका कारण निद्रासम्बन्धी बिमारीले गाँज्न सक्छ । यसले चिडचिडाहट, डिप्रेसनजस्ता समस्याको समेत सिकार बनाउन सक्छ । मोबाइल र ग्याजेट्सको बढ्दो प्रयोग र इन्टरनेटमा उपलब्ध विभिन्न कन्टेन्टका दुव्र्यसनीहरूले हिजोआज बालबालिका तथा विद्यालयका किशोर किशोरी लतमा फस्न सहज बनाइदिएको छ । पढेन, भनेको मान्दैन, टेर्दैन, सुन्दैन, रिसाउँछ, झर्किन्छ भन्ने समस्या सबै मोबाइलले नै भएको हो । बालबालिका फकाउने र खुसी पार्ने र तिनीहरूलाई स्मार्ट बनाउने नाउँमा मोबाइल दिँदा पढाइमा ध्यान दिँदैनन् र मोबाइलको विकिरणले तिनीहरूको स्मरण शक्तिलाई ह्रास बनाइदिएको छ । विभिन्न किसिमका पुस्तकहरुको अध्ययन र लेखकसँग अन्तरसंवाद कार्यक्रम मासिक रुपमा संचालन गरी अध्ययन संस्कृतिमा जोड दिई युवाहरूलाई सुसंस्कृत र देशभक्त बनाउन देश र जनताको निःस्वार्थ सेवा गर्ने उद्देश्यका साथ स्थापित बुक क्लब भक्तपुरले यहीँ माघ ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने तीनदिने स्टुडेन्टस् बुक फेयरमा विद्यालय कलेजका शिक्षकशिक्षिका, प्राध्यापक, लेखक, साहित्यकार बुद्धिजीवी, पत्रकार, विभिन्न पेसाकर्मी, विद्यार्थी तथा पाठकको सहभागिताको लागि हार्दिक अनुरोध छ । सोही कार्यक्रममा पहिलो दिन उद्घाटनसँगै युवाहरु बीच पुस्तक वार्ता, दोश्रो दिन कविता गोष्ठी र कथा बाचन तथा तेश्रो दिन पोषणविद् डा. अरुणा उप्रेतिसँग अन्तरसंवाद एवं सांगितिक कार्यक्रम सहित समापन हुने आयोजक बुक क्लब भक्तपुरले जनाएको छ । महेश्वरी बैंक्वेटमा हुने उक्त कार्यक्रमको मुख्य आकर्षणको रुपमा विभिन्न प्रकाशनहरुको पुस्तक स्टल, अभिभावक शिक्षा, शैक्षिक सामाग्रीहरुको प्रदर्शनी, लाइभ कार्टुन क्यारीकेचर, मृतिका (माटो) कला कार्यशाला, विद्यालयका खेलकुद सामाग्री तथा खेलौना विक्री स्टल एवं नेवारी खाजाका स्टलहरु समेत हुने बताइएको छ ।...

All Comments.......


Please Login/Register To Comments