भक्तपुर । २०७९ फागुन १, सोमबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको अन्तरंग सेवा विस्तारको एक वर्ष पुगेको अवसरमा सोमबार वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भयो । 
कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउन सके गरिब र कामदार वर्गका बिरामीहरुले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गर्नुका साथै लाभान्वित हुने बताउनुभयो ।
उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल सही र तथ्यपरक आलोचनाहरुको आत्मसात गर्दै देशकै प्रतिष्ठित र व्यवस्थित अस्पतालको रुपमा विकास गर्ने उद्देश्यअनुरुप अगाडि बढिरहेको बताउँदै अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले जनताको निःस्वार्थ सेवा गर्ने भावनाले काम गर्न प्रेरित गर्नुभयो ।
अस्पतालको प्रशासन, व्यवस्थापन, कर्मचारी अनुशासन र सरसफाईलगायतका पक्षले अस्पतालको विकास र संरक्षणमा ठूलो भूमिका खेल्ने बताउँदै उहाँले राम्रा राम्रा अस्पतालबाट सिक्दै ख्वप अस्पताललाई देशको राष्ट्रिय स्तरको अस्पतालको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो ।
भक्तपुरको ख्वप अस्पताल स्वास्थ्य बीमा सेवा प्रदान गर्नेमा आठौं स्थानमा रहेको चर्चा गर्नुहुँदै उहाँले ख्वप अस्पतालमा बिरामीको चाप र आवश्यकताअनुसार सेवासुविधाहरु बढाउँदै लाने तयारीमा रहेको बताउनुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले ख्वप अस्पतालप्रति जनताको अपनत्व रहनु नै अस्पतालको सबल पक्ष रहेको बताउँदै अस्पताल स्तरोन्नतिमा भक्तपुरका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, सरोकारवाला निकाय र स्थानीय जनताको ठूलो साथ र सहयोग रहेको बताउनुभयो ।
ख्वप अस्पतालका इन्टरनल मेडिसिनका विशेषज्ञ डा. अमर प्रजापतिले अन्तरंग विभागको  वार्षिक सेवाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो भने ख्वप अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. मजेश प्रताप मल्लले ख्वप अस्पतालको सेवा प्रवाह र बिरामीहरुको वार्षिक तथ्यांकबारे प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य एवम् ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा र स्टाफ नर्स रबिना कवांले पनि बोल्नुभएको थियो ।
कार्यक्रमपश्चात प्रमुख प्रजापतिले ख्वप अस्पतालको अन्तरंग सेवामा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments