भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको माग
विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्था छ । संक्रमणले मानिसहरुलाई अन्योलताको अवस्था सृजना गराएको छ । कृषि तथा पशुजन्य उत्पादनहरुको विक्रि वितरण हुन सकिरहेको छैन । कृषिका लागि आवश्यक रासायनिक मल, विउविजन तथा पशुआहार पनि समयमै उपलब्ध हुन नसकेकोले सोचेजस्तो उत्पादन हुने देखिदैन ।
 यहि अवस्थामा वागमती प्रदेशबाट प्रदेशभरीका कृषि, भेटनरी तथा पशुसेवाका सम्पूर्ण निकाय एवं कार्यालयहरुलाई एकिकृत गरी एकद्धार प्रणालीबाट सेवा दिने भन्ने विषय जानकारीमा आएको प्रति यस भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
भक्तपुर जिल्ला कृषि उत्पादन तथा पशुपालनमा अग्रस्थानमा रहेको जिल्ला हो । यहाँका चारवटा नगरपालिकाका वडाहरुमा अझैं प्रयाप्त कृषि तथा पशुपालन सम्बन्धी ज्ञान तथा जानकारीहरु पुर्याउन नसकिरहेको अवस्थामा दुवै कार्यालयलाई एक बनाई कर्मचारी समेत समायोजनले कृषि तथा पशुपालनका क्षेत्रमा सहयोग पुग्ने अवस्था देखिदैन । भूकम्पबाट विस्तारै अगाडि बढिरहेका किसानलाई फेरी कोरोना भाइरसले पिडा थपिदिएको छ । यस्तो अवस्थामा कृषि तथा पशुपालनका क्षेत्रमा थप सहयोग, अनुदान तथा घरघरमा प्राविधिक सेवा पुर्याउनुपर्ने समयमा कार्यालय समायोजनको विषयले हामीलाई गम्भिर बनाएको छ ।  
कृषि तथा तरकारी उत्पादन र पशुपालनबाट दुध तथा मासुजन्य उत्पादनमा अगाडिरहेको जिल्ला भक्तपुरमा कृषि तथा पशुपालन गरिरहेका कृषकहरुको लागि अझै थप सहयोग, अनुदान तथा सहुलियतपूर्ण ऋण सहितका सहयोग कार्यक्रमहरु ल्याउनका लागि वागमती प्रदेश सरकारसँग माग गर्दै कार्यालयहरु समायोजन कार्य अगाडि नबढाउनुहुन भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ जोडदार माग गर्दछ ।

हरिप्रसाद नेपाल
अध्यक्ष

...

All Comments.......


Please Login/Register To Comments