यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा खडा गरिएको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्। उम्मेदवारको सूची शनिबार नै प्रकाशित गरिनेछ। ‘मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची अपराह्न ४ बजेभित्र प्रकाशन गर्ने कार्यतालिका छ,’ सहायक निर्वाचन अधिकृत शर्माले भनिन्, ‘निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदान समय तोकिएको छ, मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुनेछ। साँझ ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी छ।’

आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। संघीय संसद्का ३३२ र सात प्रदेशका प्रदेशसभा सदस्य ५५० गरी ८८२ जनाले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्। संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र्र हुनेछ। संघीय संसद् र प्रदेशसभा सदस्यको मतभार पनि फरकफरक हुनेछ।  

संविधानको धारा ६२ (१) मा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यको मतभार संघीय कानुनबमोजिम फरकफरक हुने उल्लेख छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। नेपालको जनसंख्यालाई संघीय संसद्का सदस्यको कुल संख्याले भाग गरेर आएको भागफललाई फेरि १ हजारले भाग गरेर संघीय संसद्का सदस्यको मतभार निकालिएको छ। त्यस्तै कुल जनसंख्यालाई प्रदेशसभा सदस्यको कुल संख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर प्रदेशसभाका सदस्यको मतभार निकालिएको छ। राष्ट्रिय जनगणना २०७८ को विस्तृत विवरण आउन बाँकी रहेकाले अघिल्लो जनगणना २०६८ लाई जनसंख्याको आधार बनाइएको हो।  

राष्ट्रपतिको उम्मेदवार बन्न पाँचपाँच जना प्रस्तावक र समर्थक हुनुपर्छ। निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसके सबैभन्दा बढी मत प्राप्त गर्ने दुईजनाबीच फेरि मतदान हुनेछ। सो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ। बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसके पुन: मतदान हुनेछ। त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ। संघीय संसद् सदस्यको कुल मतभार २६ हजार १४९ र प्रदेशसभा सदस्यको कुल मतभार २६ हजार ४०० हुन्छ।

संविधानको धारा ६२ को उपधारा ६ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेका व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुईपटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति तेस्रोपटक उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।  

संघीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्छन्।  

राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्ने उल्लेख छ। नेपालमा राष्ट्रपतिको पहिलो निर्वाचन २०६५ साउन ४ गते भएको थियो। त्यसबेला निर्वाचनबाट डा. रामवरण यादव राष्ट्रपति बनेका थिए। त्यसपछि २०७४ सालमा भएको निर्वाचनबाट विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएकी हुन्। राष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ।


...

All Comments.......


Please Login/Register To Comments