भक्तपुर । भक्तपुरमा १० दिनसम्म रक्सी बेच्न बन्देज गरिने भएको छ । भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा र मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई शान्तिपूर्ण बनाउन रक्सी बेच्न बन्देज गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बुधवार बसेको बैठकले चैत २७ गतेदेखि बैशाख पाँचसम्म मदिरा र मदिराजन्य पदार्थ खुलारुपमा बेचबिखन गर्न नपाइने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जनाएका छन् । जिल्लास्थित उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्स र मदिरा व्यवसायी संघलाई समन्वय गरी निर्णयलाई प्रभावकारी कार्यान्वयनमा लैजाने उनले प्रष्ट पारे ।
बैठकले जात्रा भक्तपुरको पहिचानसंग जोडिएकोले यसलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, स्थानीय क्लबहरुलाई आह्वान गर्ने लगायत जात्रा अवधीभर सो क्षेत्रमा चिकित्सक सहित स्वास्थ्यकर्मी परिचालन गर्ने र एम्बुलेन्सलाई केन्द्रीत गरी तयारी अवस्थामा राख्ने समेत व्यवस्था मिलाउने निर्णय गरेको बताइएको छ ।
बैठकमा जिसस प्रमुख ईश्वरबहादुर थापा र मध्यपुर थिमी नगर प्रमुख सुरेन्द्र श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो भने भक्तपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालय तथा भक्तपुर अस्पतालका प्रमुखहरु,  नेपाल पत्रकार महासंघ, नागरिक समाज र सरोकारवालाको सहभागिता रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments