देशभरका प्रतिनिधि साइकल संस्था, समूह तथा साइकलप्रेमीको सहभागिता तथा सामूहिक पहलमा धुलिखेल काभ्रेमा नेपालमा साइकल कानुन तथा अभियान विषयक दुईदिने आवाशीय कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा नेपालभरका साइकल संस्थाहरु, साइकल अभियानका अगुवा तथा नियमित साइकल प्रयोगकर्ता चार दर्जनबढी प्रतिनीधि तथा साइकलप्रेमीको सहभागीता रहेको थियो । विविध क्षेत्र, शङकाय, पेशा, तथा रुचिका प्रतिनिधि सहभागीहरुले साइकल समुदाय र साइकल अभियानका सवल, दुर्वल, अवसर, जोखिम आदि विविध विषयमा आफू र आफ्ना संस्थागत अनुभव आदानप्रदान, सामूहगत छलफल तथा प्रस्तुतिपश्चात सर्वसम्मत निम्न निकर्ष निकालेको छ ः  
साइकल समुदाय तथा अभियानका विविध समस्याहरु पहिचान गरि प्राथमिकीकरण गरिएका पाँचवटा प्रमुख समस्याहरु ः  
१. नेपालमा साइकल कानुनको अभाव, 
२. पूर्वाधारको कमी तथा अव्यवस्थापन, 
३. साइकल शिक्षासँग सम्बन्धित अभियानको कमी, 
४. साइकल समुदायबीच भातृत्वको कमी, 
५. राष्ट्रिय साइकल छाता संगठनको अभाव । 
माथि उल्लेखित समस्याहरुमाथि गहन छलफलपश्चात समस्याको रणनीतिक समाधानार्थ निम्न कार्यहरु अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अघि बढाउने प्रस्ताव सर्वसम्मत पारित गरिएको छ ः  
१. नेपालमा साइकल कानुन निर्माणमा सघाउन विषयगत विज्ञतासहित विशेष समिति आवश्यक पर्ने देखिएकाले तारालाल श्रेष्ठको संयोजकत्वमा डा. गोविन्द रिजाल, जोतनारायण पटेल, चच्छु मल्ल र प्रोल्लास सिन्धुलिया सम्मिलित पाँच सदस्यीय टोलीलाई समिति गठनका लागि जिम्मेवारी तोकिएको छ ।
२. साइकल पूर्वाधारको विकास र निर्माण सम्पन्न भइसकेका साइकल पूर्वाधारको संरक्षणका लागि विभिन्न साँत बुदेँ कार्यक्रमहरुको परिकल्पना अघि सारिएको छ ।
३. साइकल शिक्षासँग सम्बन्धित कार्यक्रमहरुलाई स्कूलदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्दै विविध शैक्षिक गतिविधिमा जोड दिनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति प्रस्तुत गरिएको छ । 
४. विविधताले सम्पन्न साइकल समुदायबीच भातृत्व विकाससहित आपसी सहकार्य, सहभागिता तथा सहअस्तित्व विकासका लागि प्रतिनिधीमूलक कार्यक्रमको परिकल्पना लिपिवद्ध गरिएको छ । 
५. देशभरका साइकल संस्था तथा साइकल समुदाय समेटन साइकलको साझा छाता संगठन निर्माणका लागि रणनीतिक परिकल्पना प्रस्तुत गरिएको छ । 
कार्यशालाको अन्तमा हामी विविध क्षेत्रबाट प्रतिनिधित्व गर्ने साइकल समुदायका सदस्य तथा इमान्दार अभियानकर्ताहरु सामाजिक, आर्थिक, सांस्कृति तथा राजनीतिक हरेक हिसाबले सवल, सचेत र अनवरत सामाजिक न्यायका लागि समर्पित समुदायका रुपमा स्थापित गराउन दूरदृष्टीसहित एकतावद्ध बनेर सिर्जनात्मक अभियानमा संलग्न रहने र साइकल समुदायलाई यसतर्फ अग्रसर गराउने प्रतिवद्धता सर्वसम्मत सहमतिमा घोषणा गरिएको थियो ।
‘साइकल संस्कृति अभियान’को संयोजकत्व, ‘नेपाल साइकल सोसाइटी’, ‘साइकल सिटी नेटवर्क नेपाल’, ‘हिमालय राइडर्स सोसाइटी’, ‘बारा राइडर्स क्लव’, ‘साइकल साथी सैनामैना’, ‘फारवेस्टर्न राइडर्स’, ‘नेपालगंज साइक्लिङ क्लव’, ‘साइकल सिटी पोखरा’, ‘साइकल सिटी भैरहवा’, ‘चितवन साइक्लिङ राइडर्स क्लव’, ‘विरगंज साइक्लिङ राइडर्स क्लव’को आयोजना, ललितपुर महानगरपालिकाको प्रायोजन तथा धुलिखेल नगरपालिकाको आतिथ्यतामा कार्यशाला सफल रुपमा सम्पन्न गरिएको थियो । माथि उल्लेखित देशभरका साइकल संस्थाका अगुवा, प्रतिनिधि, प्रतिवद्ध साइकल संस्कृति विकासमा समर्पित अभियानकर्मीले सहभागीतामूलक प्रस्तुतीसहित सामूहिक कार्यबाट यस आधार पत्रलाई अन्तिम स्वरुप दिइएको थियो । कार्यक्रममा कुनै स्रोतव्यक्ति वा विज्ञको रुपमा कसैलाई आमन्त्रित गरिएको थिएन । देशभरबाट साइकल समुदायको प्रतिनिधित्व गर्दै साइकल समुदायका सक्रिय प्रतिनिधिहरु जस्तै अपाङ्गता भएका समुहका एक हातले साइकल हाँकिरहेका व्यक्तिहरु, सर्वसाधारण, गृहणी, पेशाकर्मी, विद्यार्थी, शिक्षक, प्राध्यापक, डाक्टर, लेखक, कलाकार, साइकल खेलाडी, साइकल व्यवसायी आदि सबै क्षेत्रका प्रतिनिधिहरु उपस्थित भई कार्यशालाको सफलताका लागि सामूहिक रुपले महत्वपूर्ण योगदान दिनुभएको थियो । सबै सहभागी साइकल संस्कृति विकासप्रति समर्पित नियमित साइकल प्रयोगकर्ता तथा साइकल अभियानकर्ताका रुपमा पहिचान बनाइसकेका विविध विषयमा विज्ञता हासिल गरेका व्यक्तित्वहरु हुनुहुन्थ्यो । निश्चित मात्रामा युवा, विद्यार्थी तथा साइकल समुदायका नवप्रवद्र्धक पनि हुनुहुन्थ्यो । एक हातले साइकल प्रयोग गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाइसकेका, साइकल खेलकुदमार्फत स्वर्णपदक हासिल गरिसकेका अपाङ्गता भएका महिला तथा पुरुष सहभागीका साहसिक कथाले अतिथि सहभागी सबैमा आशाको आभा छर्न सफल भएको थियो । 
कार्यक्रमको समुदघाटन नियमित साइकल प्रयोग तथा साइकल संस्कृति विकासमा समर्पित काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्रका डीन प्रा.डा. राजेन्द्र कोजुले फूलको विरुवालाई पानी दिएर सम्पन्न गरेको थियो । साथै, प्रा.डा. कोजुले देशभरबाट धुलिखेलमा भेला भएका साइकल समुदायका प्रतिनिधि अतिथि सहभागीलाई साइकल प्रयोगबाट स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे प्रष्ट पार्नुभएको थियो । त्यस पश्चात दुई दिनसम्म नेपालको साइकल संस्कृति, साइकल अभियान, साइकल अभियानकर्मी, साइकल कानुन, साइकल समुदायका समस्या, सम्भावना, सुधानुपर्ने पक्षहरुबारे नियमित साइकल प्रयोगकर्ता तथा अगुवाहरु आपसमा सामूहिक छलफल गरि निचोड निकालेर रणनीति तय गरिएको थियो । सामूहिक रुपमा पहिचान गरिएका साइकल समुदायका समस्या र तिनको समाधानार्थ तयार पारिएको रणनीतिहरुलाई सफलपार्न कार्यशालाको समापनका क्रममा सम्पूर्ण अतिथि सहभागी तथा कार्यशालाका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र विशेष अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोककुमार बेन्जुले आफ्नो व्यक्तिगत तथा नगरपालिकाका तर्फबाट सघाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।  
अन्तमा कार्यशालाको सुरुमा कतिपय अतिथि सहभागीहरुले नेपालमा साइकल संस्कृति विकासमा निकै चुनौति बोध गरेर निराशावादी विचार व्यक्त गर्नुभएको थियो तर कार्यक्रमको समापनमा अब नेपाली गाउँसहरमा विद्यमान साइकल संस्कृतिलाई संरक्षण गर्न र साइकल शहर विकास गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसहित सामूहिक सौन्दर्यका साथ अघि बढ्ने अठोट व्यक्त गर्नुभएको छ । हामी छिटै सातवटै प्रदेशमा साइकल कानुन तथा अभियानबारे कार्यशालाको आयोजना गर्ने प्रतिवद्धताका साथ योगदानका लागि सहभागी, आयोजक, संयोजन, प्रयोजक, आतिथ्यता गर्ने संस्थाहरु तथा सयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ ।   

...

All Comments.......


Please Login/Register To Comments