बुधबार नयाँ वानेश्वरस्थित संसद भवनमा संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा)को संयुक्त बैठक बसेको थियो ।

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८०’ को प्रतिवेदन माथि छलफल गर्न बसेको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले लोकतन्त्र के हो र नेपालका कस्तो अभ्यास भइरहेको छ भनी ब्याख्या गरे ।

संसद र संसदीय गतिविधि विधि र प्रक्रिया अनुसार कार्यालय समयभित्र हुनु उपयुक्त हुनुपर्ने सांसद सुवाल बताउँछन्। अन्यथा त्यो प्रजातन्त्र हुन नसक्ने उनको भनाइ छ ।

‘प्रजातन्त्र राती राती साँझ साँझ मात्रै चल्ने होइन। १५ मिनेट अगाडि प्रतिवेदन पेश भयो। १५ मिनेट पछाडि सैद्धान्तिक छलफल फेरि साँझ साँझ !’ उनले थपे, ‘अब रात हुन्छ पास गर्ने होला !’

बुधबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफल रोकेर संयुक्त बैठक राखिएको थियो । पहिलो संयुक्त बैठकमा नियमावलीको प्रतिवेदन पेश भयो । प्रतिवेदनउपर सैद्धान्तिक छलफलका लागि दोस्रो बैठक राखिएको थियो। संयुक्त बैठकको दोस्रो बैठकमा सांसद सुवालले एकै दिन फरक फरक बैठक पटक–पटक राखेकोा भन्दै यस्तो तरिकलाई प्रजातन्त्र भन्न नसकिने भनी ब्याख्या गरेका हुन् ।

गाउँ गाउँमा सिंहदरवार पुग्यो भनिएको उल्लेख गर्दै उनले सिंहदरवारसँगै प्रजातन्त्र पनि गाउँ गाउँमा पुगेको बताए । गाउँ गाउँमा पुगेको प्रजातन्त्र अनुरुप सबैले संसदका गतिविधि हेर्न पाउनुपर्ने उनको माग छ।

संसदमा आएका नयाँ सांसदहरुले समेत संसद र संसदीय गतिविधि सही रुपमा सिक्न पाउनुपर्ने सांसद सुवाल बताउँछन् । भन्छन्, ‘नेपाली जनता नयाँ पुस्ता पनि भोलि संसद सदस्य भएर आउने होला। उहाँहरुले पनि त हेर्न पाउनुपर्यो कसरी संयुक्त समितिमा प्रतिवेदन पेश भयो ? संसद कसरी चल्छ ? यो त सबै नेपाली जनताले हेर्न पाउनुपर्ने हो।’

संयुक्त समितिमा रहने सदस्यहरुमा ठूला दलले भागवण्डा गरेको भनी उनले त्यसमा पनि असन्तुष्टि जनाए । हाल संघीय संसदमा १३ दलको प्रतिनिधित्व छ । संयुक्त समितिमा ठूला दलले सदस्य संख्या भागवण्डामा तय गर्ने गरेको दोहोर्‍याउँदै सांसद सुवालले भने ‘भीडलाई प्रजातन्त्र भनिँदैन्।

‘बिचारलाई प्रजातन्त्र भनिने उल्लेख गर्दै उनले थपे, ‘एउटै रङको फुल प्रजातन्त्र होइन । अलग अलग फुल चाहिन्छ प्रजातन्त्रमा । त्यसकारण सबै पार्टीहरु संयुक्त समितिमा हुनुपर्छ ।’


...

All Comments.......


Please Login/Register To Comments