भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८०।८१ को लागि रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत भयो ।
विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख ९४ हजार रुपैया अर्थात् ५५.८० प्रतिशत र  पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैया अर्थात् ४५.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख अर्थात् ४.१९ प्रतिशत विनियोजन गरेको छ ।
बजेट वक्तव्यमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रुपैया“ विनियोजन गरिएको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैया“ विनियोजन गरेको छ । त्यस्तै ख्वप कलेज अफ ल का लागि आवश्यक जग्गा खरिद गरेको छ । 
नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुदान प्रदान गर्न २ करोड बजेटको व्यवस्था गरिएको छ भने शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन रु. २ करोड रुपैया बजेटमा विनियोजन गरेको छ । 
  नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि निजहरुले पाउँदै आएको तलबमा भक्तपुर नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक रु. २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरेको छ । 
ख्वप अस्पतालमा सीटी स्क्यान खरिदको लागि ८ करोड रुपैया“, अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि थप २ करोड रुपैयास“गै सञ्चालन खर्चका लागि थप ३ करोड रुपैया“ र भनपा वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३० लाख र भनपा वा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरेको छ । 
सम्पदा र संस्कृतिक संरक्षणतर्फ भनपा वडा नं. ३ स्थित ऐतिहासिक थन्थु दरबार पुनः निर्माणका लागि २ करोड र इन्द्रायणी द्यो छेँ पुनः निर्माणको लागि २० लाख रुपैया“ थप विनियोजन गरिएको छ भने वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणका लागि ८५ लाख, इखालाछी मठ पुनःनिर्माणका लागि ५० लाख र हाडा छेँ पुनःनिर्माणको लागि ३० लाख रुपैया“ थप विनियोजन गरेको छ । 
भनपा ७ मा साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र वडा नं. २ मा कोसेली घर निर्माणका लागि ५० लाख रुपैया“ विनियोजन गरेको छ भने वडा नं ६ स्थित छुमा गणेश द्यो छे पुनःनिर्माणका लागि ५० लाख थप विनियोजन गरेकोे छ । 
लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैया, वडा नं. ५ मा तरकारी बजार निर्माण गर्न ७० लाख रुपैया थप विनियोजन गरेको छ भने कृषि अनुसन्धान केन्द्र स्थापना गर्न २० लाख र व्यवस्थित वधशाला निर्माण गर्न रु. १० लाख बजेट राखेको छ । 
नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन विधिका लागि रु. १ करोड, वडा नं १० मा डिप बोरीङ गर्न २५ लाख, वडा नं १ को सिंहख्वातेमा डिप बोरिङ गर्न रु. २० लाख र वडा नं ९ को तुमचोमा खानेपानी पूर्वाधार निर्माण गर्न रु. २५ लाख बजेट विनियोजन गरेको छ । 
हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैया, अरनिको सभाभवन निर्माणका लागि नगरपालिकाबाट रु. ३ करोड २० लाख र बागमती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षिय योजनाका रुपमा अघि बढाएको छ । साथै कमलविनायक बहुउद्देश्यीय भवन निर्माण कार्यका लागि ४ करोड, वडा नं ९ तौलाछे वाथिकुथि (लिवि)मा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण कार्यका लागि २५ लाख विनियोजन गरिएको छ भने वडास्तरीय योजनाको मर्मत, निर्माण तथा स्तरोन्नतिका लागि ५०÷५० लाख गरी कुल ५ करोड रुपैया विनियोजन गरेको छ । 
खेलकुदअन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड र शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा रु २५ लाख विनियोजन गरेको छ । नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको छ । 
विविध योजना तथा कार्यक्रमहरुअन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि रु. २० लाख, देको मिवा इटापाके आवास योजनाका लागि रु. १८ करोड, पार्किङ पूर्वाधार निर्माणमा रु. ५० लाख विनियोजन गरेको छ । 
सिसिटिभी प्रणाली जडान गर्न २३ लाख, आदर निकेतन भवन निर्माण गर्न थप रु. ५० लाख विनियोजन गरेको छ भने यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था बजेटले गरेको छ । 
नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८०”, “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८०” सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाले छलफलको लागि स्वीकृत गरेको छ ।
नगरसभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्ने गरी स्थगित भयो ।

...

All Comments.......


Please Login/Register To Comments