भक्तपुर । भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा सोमबारदेखि श्रावणी मेला सुरु भएको छ ।

सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अबस्थित उक्त मन्दिरमा सोमबारदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिले जनाएको छ ।

बिहान पौखेलस्थित चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा गरी श्रावणी मेलाको सुरुवात गरिएको हो ।

कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले औपचारिक रुपमा उद्घाटन गरेका छन् । यसैैबीच, नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिकाको ६८ लाख रुपैयाको लागतमा निर्माण भएको डोलेश्वर मन्दिरको मुलद्वारको उद्घाटन गरे । 

कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले डोलेश्वरले यस क्षेत्रको धार्मिक पर्यटनको विकास गर्न र यहाँको आयस्तर उकास्न ठूलो मद्दत पुर्‍याएको बताए । उनले नगरपालिकाले यहाँको विकासमा थप बजेट विनियोजन गर्ने जानकारी दिए । 

सूर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न वडा कार्यालयले समितिसँग समन्वय गरी अघि बढिरहेको बताए ।

मेलाअन्तर्गत श्रावण २ गतेदेखि ८ गतेसम्म पं. जनार्दन पौडेलबाट शिवपुराण कथा बाचन, श्रावण ९ गतेबाट १५ गतेसम्म पं. उदयनारायण बाँस्कोटा शास्त्रीबाट पुरुषोत्तम माहात्ये, श्रावण ६ गतेबाट २२ गतेसम्म पं. राघव अर्यालबाट श्रीमद्भागवत् महापुराण, श्रावण २३ गतेबाट २७ गतेसम्म पं. बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, श्रावण २८ गतेबाट भाद्र ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजन कीर्तन र भाद्र ६ गते वार्षिकोत्सव तथा श्रावणी मेला समापन गरिने छ ।

३८ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको समितिले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments