काठमाडौं, २० साउन । नेपाल इन्जिनियरिङ कलेज(नेक)मा स्नातकोत्तर तहमा सन् २००७ देखि सञ्चालित अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमका पूर्व विद्यार्थी विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुन सफल भएका छन् ।
नेकका पूर्व विद्यार्थी इन्जिनियर बखतबहादुर शाहीले नेपालको विकट क्षेत्रहरुमा विद्युत विकास परियोजनाहरूको सफल कार्यन्वयनमा पुयाएको योगदानको उचित मूल्याङ्कन गरी सरकारले विद्युत उत्पादन कम्पनी लिमिटेडको सिइओमा नियुक्त गरेको हो ।
जलश्रोत व्यवस्थापन प्राकृतिक तवरले नै अन्तरविधा हुने हुँदा यसको प्राविधिक विधामा मात्र जोड दिँदा परियोजनाहरू सफल कार्यान्वयन नहुने र अपेक्षित लाभ हासिल गर्न नसकिने तथ्यलाई मनन गरी नेकले १६ वर्ष अगाडि स्नातकोत्तर तहमा सन् २००७ देखि अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको थियो ।
लोकसेवा आयोगको २०५२ सालको नियममा कार्यक्रम उल्लेख नहुँदा र २८ वर्षसम्म पनि उक्त नियम अध्यावधिक नहुँदा उक्त कार्यक्रमबाट उत्तीर्ण विद्यार्थीहरूले सरकारी सेवामा पदोन्नतीमा बेलाबखत दुःख पाए पनि निजी तथा गैरसरकारी संस्थाहरूले उक्त कार्यक्रमबाट उत्तीर्ण विद्यार्थीहरूलाई रुचाउने गरेको तथ्याङ्कले देखाउँछ ।
यही कार्यक्रमबाट उत्तीर्ण विद्यार्थीहरू अहिले विभिन्न सरकारी निकायहरूमा सहसचिव सरहको पदमा सेवा दिइराखेका छन् । तर नियम समयोचित परिमार्जन तथा अध्यावधिक नहुँदा तथा केही निर्णयकर्ताहरूको परम्परागत सोचका कारण देशले अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमबाट उत्पादित जनशक्तिको पूर्ण सदुपयोग गर्न सकेको छैन ।
सरकारी तवरबाट सर्वेक्षण गरी विद्युत उत्पादनको लागि उचित देखिएका आयोजनाहरू कार्यान्वयन गर्ने काम विद्युत उत्पादन कम्पनी लिमिटेडले गर्दछ । संघीयस्तरका तीनवटा मन्त्रालयहरू, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष जस्ता निकायहरूकोसमेत लगानी हुने व्यवस्था भएको विद्युत उत्पादन कम्पनीको प्रमुख कार्यकारीको जिम्मा पाएकोबाट पनि अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमको महत्व थप उजागर भएको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ बताउँंछन् ।

मुनाफारहित उद्देसश्यले चाँगुनारायण नगरपालिका भक्तपुरमा सञ्चालित कलेजबाट उच्च शिक्षा हासिल गरेका अनगिन्ती जनशक्तिहरू सरकारी, गैरसरकारी तथा निजी प्रतिष्ठित संस्थाहरूमा कार्यरत छन् ।

...

All Comments.......


Please Login/Register To Comments